२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा



अ+ अ-

काठमाडाैँ । किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण हुन नसक्दा किसान मर्कामा परेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जमा डिएपी, युरिया र पोटास पर्याप्त परिमाणमा मौज्दात रहेपनि प्रदेशस्तरीय मल व्यवस्थापन समितिले वितरणसम्बन्धी निर्णय नगर्दा धानको बीउ राख्ने समयमा किसानले मल पाउन सकेका छैनन् ।

कृषि सामग्री कम्पनीका अनुसार हाल डिएपी ४८४ दशमलव ३०० मेट्रिक टन, युरिया ५०७ दशमलव ५५० मेट्रिक टन र पोटास १०२ दशमलव ४०० मेट्रिक टन मौज्दात छ । कम्पनीका प्रमुख पुष्पराज श्रेष्ठले प्रदेशस्तरीय मल व्यवस्थापन समितिबाट निर्णय भई पत्र प्राप्त हुनासाथ मल वितरण सुरु गरिने बताउनुभयो । उहाँका अनुसार जिल्लाका लागि छुट्याइएको परिमाणअनुसार सम्बन्धित स्थानीय तहमा मल पठाइनेछ ।

“निर्णय भएपछि जिल्लाको कोटा निर्धारण हुन्छ । त्यसपछि सोहीअनुसार स्थानीय तहमा मल पठाइन्छ”, उहाँले भन्नुभयो । श्रेष्ठले किसानले रासायनिक मलमा ७० प्रतिशत अनुदान पाउने जानकारी दिँदै वितरण प्रक्रिया जटिल भएकाले किसानले समयमा मल प्राप्त गर्न कठिनाइ भोग्नुपरेको स्वीकार गर्नुभयो ।

“मल वितरणसम्बन्धी कार्यविधि यस्तै छ, हामीले व्यवस्थापनको काम मात्रै गर्ने हो”, उहाँले भन्नुभयो । रासायनिक मलको लक्ष्यअनुसार आपूर्ति हुन नसक्दा बेलाबेलामा अभावको अवस्था सिर्जना हुने गरेको उहाँले बताउनुभयो । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, नेपालगञ्जका प्रमुख वासुदेव उपाध्यायले निगममा केही परिमाणमा रासायनिक मल मौज्दात रहे पनि वितरण सुरु नभएको जानकारी दिनुभयो ।

प्रदेशस्तरीय निर्णयपछि स्थानीय तहलाई कोटाअनुसार केही दिनभित्रै मल उपलब्ध गराइने उहाँले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारले स्थानीय तहका लागि छुट्याएको कोटाअनुसार सम्बन्धित पालिकाले किसानलाई मल वितरण गर्ने व्यवस्था छ । यसैबीच, बाँकेमा किसानले धानको बीउ राख्न सुरु गरिसकेका छन् । कृषि ज्ञान केन्द्र, नेपालगञ्जका अनुसार जिल्लाका धान उत्पादनका प्रमुख क्षेत्र डुडुवा, नरैनापुर, खजुरा, जानकी र बैजनाथलगायत स्थानमा धानको बीउ राख्ने काम सुरु भएको छ । ज्ञान केन्द्रका अनुसार किसानले राधा–४ सहित स्थानीय तथा ‘हाइब्रिड’ जातका धानको बीउ राखिरहेका छन् ।

बाँकेका किसान जयपाल मौर्यले गत वर्ष मौज्दात रहेको मल प्रयोग गरेर यस वर्ष धानको बीउ राखेको बताउनुभयो । तर तरकारीजस्ता लहरे बालीका लागि भने मल अभाव कायमै रहेको उहाँको गुनासो छ । उहाँका अनुसार केही किसानले गत वर्ष बचत रहेको मल प्रयोग गरेर धानको बीउ राखेका छन् भने केही किसान मल प्रयोग नगरी नै बीउ राख्न बाध्य भएका छन् । “धेरै ठाउँमा मल खोजिरहेका छौँ, तर जेठको अन्तिम सातातिर मात्रै आउँछ भन्ने सुनिरहेका छौँ”, उहाँले भन्नुभयो ।