१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन

यस्तो छ चलचित्र ‘काजी’को कथा

यस्तो छ चलचित्र ‘काजी’को कथा
अ अ+ अ-

काठमाडौँ। सामाजिक विषय र प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘काजी’ गत जेठ ८ देखि प्रदर्शनरत छ ।

विसं २०४५ को समयको सामाजिक संरचनाभित्र रहेर प्रेम, समर्पण र सम्बन्धको कथा प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेता विपिन कार्कीले ‘काजी’ र अभिनेत्री केकी अधिकारीले उहाँकी श्रीमती ‘कजिनी’ को भूमिका निर्वाह गर्नुभएको छ ।

बाल्यकालमै टुहुरो भएका काजीले मागी विवाहमा पाउने श्रीमतीलाई नै आफ्नो संसार बनाउँछन् । एउटा दृश्यमा काजीले ‘मेरो बा, आमा सबै नै श्रीमती (कजिनी) नै हुन्’ भन्ने संवाद बोल्छन्, जसले काजीले आफ्नो कजिनीलाई गर्ने प्रेमका बारेमा ज्ञात गराउँछ । उक्त चलचित्रमा देखाइएको प्रेममा त्याग छ, सहनशीलता छ र मौन स्वीकृतिहरू छन् ।

श्रीमान् र श्रीमतीबीचको प्रेमलाई जति देखाइएको छ, त्यहाँ सामाजिक दबाब पनि सृजना गरिएको छ । वंश अगाडि बढाउने सन्तान नहुँदा चलचित्रमा द्वन्द्व सृजना हुन्छ । काजीलाई उनका काकाले अर्को विवाह गर्न सल्लाह दिन्छन्, तर उनले श्रीमतीबाहेक अन्य सोच्न नसक्ने बताउँछन् ।

यद्यपि, चलचित्रमा कजिनीको बहिनी अर्थात् काजीको साली (गरिमा शर्मा) को प्रवेश सँगै नयाँ मोड आउँछ । काजी र सालीबीचको सम्बन्ध विवाहसम्म पुग्न सक्ने हल्ला समाजमा चलेपछि कजिनीले झुट बोल्ने योजना बनाउँछिन् । उनलाई कुनै पनि सर्तमा काजी गुमाउनु छैन । चलचित्र ‘काजी’ यही वैचारिक द्वन्द्वभित्र रहेर दर्शकसँग संवाद गर्न खोजिरहेको आभाष हुन्छ । चलचित्रमा अभिनेता विपिन कार्कीले काजीलाई परम्परागत नभई प्रेमिल भावमा प्रस्तुत गर्नुभएको छ ।

“यतिसम्म पनि प्रेम गर्न सक्छन् र ? यस्तो पनि प्रेम हुन्छ र भन्ने पात्र हामीले देखाएका छौँ । यो चलचित्रमा मेरो पात्रले आफ्नो संसार नै श्रीमतीलाई मानेपछि केसम्म गर्न सक्छ भन्ने देखाइएको छ । यो अमर रहने एउटा प्रेम कथानक हो”, अभिनेता कार्कीले भन्नुभयो ।

उहाँ काजी खानदानबाट भएकै कारण काजी त हुनुभयो, तर सरल हुनुहुन्छ । गाउँलेलाई हरेक समस्यामा मद्दत गर्ने पात्र अभिनेता कार्कीले निर्वाह गर्नुभएको छ । अभिनेत्री केकी अधिकारीले ‘काजी’ जस्तो श्रीमान् हरेक महिलाको चाहना हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो एउटा निःस्वार्थ समर्पणको प्रेमकथा हो । अहिलेको पुस्तालाई यस्तो पनि प्रेम हुन्छ र ? भन्ने आभाष चलचित्र हेरेपछि हुन्छ । यसमा श्रीमान् र श्रीमती निःस्वार्थ प्रेम सामाजभन्दा माथि हुन्छ भन्ने देखाइएको छ ।”

निर्देशक लक्ष्मण रिजालले सरल र मन छुने कथालाई पटकथामार्फत चलचित्रका रुपमा तयार गरे पनि सबैभन्दा कमजोरी पटकथामै देखिएको छ । काजी आफ्नो गाउँमा एउटा सम्मानित र निर्दोष पात्र हो । आफ्ना पिताले बसालेको बस्तीमा उसको बेग्लै सान छ । तर, चलचित्रमा देखाइएको घटनाक्रम वा पटकथा एकै लयमा बग्दा दर्शकले धैर्यता गुमाउन सक्छन् ।

बारम्बार उस्तै दृश्य र शैली देख्दा सुस्त भएको महसुस हुन्छ । साथै, चलचित्रमा देखिने समस्यासँग मुख्य पात्र भाग्दा दर्शकलाई खिन्न लाग्न सक्छ । अर्थात् कजिनीले झुट बोलेर टिकाउन खोजेको सम्बन्धका लागि काजी लड्छ भन्ने अपेक्षा हुनसक्छ । तर, काजीले रोज्ने सरल बाटोले त्यसमा द्वन्द्व सिर्जना हुन् पाउँदैन । हुन् त काजीले चलचित्र सुरु भएकै केही समयमा आउने दृश्यमा कजिनीलाई असहजता भएमा आफूले लिने निर्णयबारे आफ्नो काका र काकीलाई जानकारी गराइसकेका हुन्छन् । तर, पनि चलचित्रको पात्रले समस्यासँग समना गर्नुपर्नेमा सरल बाटो रोज्नु एउटा मुख्य कमजोरी हो ।

‘काजी’ को अर्को बिर्सनै नसकिने पक्ष यसको सङ्गीत र पाश्र्व ध्वनि हो । यसको बलियो पक्ष छायाङ्कन हो । छायाँकार चिन्तनराज भण्डारीले आजभन्दा झन्दै तीन दशक अगाडिको समयलाई कलात्मक रुपमा प्रस्तुत गर्नुभएको छ । बिजुली नहुँदा लालटिन वा टुकी बत्तीको समयलाई उहाँले दुरुस्तै उतार्नुभएको छ ।

काजी (विपिन कार्की) को चरित्र एउटा ‘आदर्श प्रेमी’ को प्रतीक हो । ‘काजी’ एउटा यस्तो फिल्म हो जुन हेरिरहँदा केहीबेर आँखालाई आनन्द दिन सक्छ, कलाकारको अभिनयले मन लोभ्याउन सक्छ तर जाँदाजाँदै दिइएको सन्देश र मुख्य द्वन्द्व फितलो हुँदा दर्शकलाई खिन्न बनाउन सक्छ ।

समग्रमा चलचित्र ‘काजी’ प्राविधिक हिसाबले जति बलियो छ, कलाकार अभिनयको जति सुन्दर र जीवन्त छ । पटकथा त्यति नै कमजोर छ । रासस