२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेन द्वन्द्वः तत्काल तनाव न्युनिकरण र युद्धविरामका लागि राष्ट्रसंघीय महासचिवको आह्वान



अ+ अ-

काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनमा जारी द्वन्द्वलाई तत्काल र दिगो रूपमा न्यूनीकरण गर्न आह्वान गर्नुभएको छ ।

रुसले युक्रेनमाथि गरेको पछिल्लो ठूलो आक्रमणपछि आयोजित सुरक्षा परिषद्को बैठकमा बोल्दै महासचिव गुटेरेसले वर्तमान युद्धको दिशा नियन्त्रणबाहिर जाने जोखिम बढेको चेतावनी दिनुभयो ।

महासचिव गुटेरेसकाअनुसार सन् २०२२ फेब्रुअरीदेखि हालसम्म युक्रेनमा ८०० बालबालिकासहित १५ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ, जसलाई मानव अधिकार उच्चायुक्तको कार्यालयले पुष्टि गरिसकेको छ ।

युक्रेनको वर्तमान अवस्थाबारे चर्चा गर्दै उहाँले नागरिक पूर्वाधार, विशेषगरी ऊर्जा क्षेत्रमा ठूलो मात्रामा विनाश भइरहेको उल्लेख गर्नुभयो ।

महासचिवले युद्धको वर्तमान गति र तीव्रता दिगो नभएको भन्दै यसले अनपेक्षित र भयानक परिणाम निम्त्याउन सक्ने खतरा औंल्याउनु भयो ।

उहाँले शान्तिका लागि अहिले नै सही समय भएकोमा जोड दिनुभयो । यसैबीच, रुसी रक्षा मन्त्रालयले युक्रेनी सैन्य लक्ष्यहरूमा गरिएका पछिल्ला क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू युक्रेनद्वारा रुसी भूभागमा गरिएका आक्रमणको जवाफ भएको दाबी गरेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल