काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आगामी गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने भएका छन् । जेठ १५ गते हुने औपचारिक कार्यक्रममा सम्बोधनका लागि उनले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्दै पत्राचार गरेको स्रोतले जनाएको छ ।
सिंहदरबार स्रोतका अनुसार महानगर प्रमुख शाहको तर्फबाट पठाइएको पत्र राष्ट्रपति कार्यालयमा समेत पुगिसकेको छ । उक्त पत्रमार्फत संविधानको धारा ६६ को उपधारा (२) अनुसार यसपटक गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिबाट सम्बोधन गरिनुपर्ने अनुरोध गरिएको बताइएको छ ।
परम्परागत रूपमा गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहँदै आएको भए पनि यसपटक सो परम्परामा परिवर्तन गर्न आग्रह गरिएको स्रोतको दाबी छ ।
यसअघि पनि शाहले संसदमा प्रस्तुत नीति तथा कार्यक्रमको प्रसंगमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा प्रत्यक्ष प्रतिक्रिया नजनाई सिधै सभामुखमार्फत प्रक्रिया अघि बढाएका थिए ।
त्यसपछि नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री (कार्यकारी प्रमुखको हैसियतमा) उपस्थित नभएपछि विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेका थिए । सो समयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए । प्रमुख प्रतिपक्ष र अन्य विपक्षी दलहरूको अवरोधबीच अन्ततः नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गरिएको थियो ।
त्यसपछि पनि प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीअनुसार कार्यकारी प्रमुखले प्रत्येक महिना संसद्मा प्रश्नोत्तरमा सहभागी हुनुपर्ने व्यवस्था देखाउँदै विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन् । उनीहरूले संसद् बैठक अवरुद्ध गरेपछि सभामुखले प्रमुख शाहलाई भेटेर प्रश्नोत्तरमा सहभागी हुने मिति तय गर्न आग्रह गरेका थिए । तर प्रमुख शाहले “उपयुक्त समयमा संसद्मा उपस्थित भएर जवाफ दिने” भन्दै तत्काल समय दिन अस्वीकार गरेको बताइएको छ ।
यसैबीच, विपक्षीको निरन्तर अवरोधबीच ‘वैकल्पिक विकास वित्तसम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित गरिएको थियो ।
निर्वाचित भएपछि शाहले अहिलेसम्म देशवासीका नाममा औपचारिक सम्बोधन नगरेको उल्लेख छ । प्रमुख प्रतिपक्षसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले औपचारिक सम्बोधन गरिसक्दा पनि उनी सार्वजनिक रूपमा औपचारिक भाषणमा देखिएका छैनन् ।











