४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको धौलागिरि र ढोरपाटनमा चिरकालिजको सर्वेक्षण



अ+ अ-

काठमाडाैँ । म्याग्दीको धौलागिरि गाउँपालिका र बागलुङको ढोरपाटन नगरपालिका क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सर्वेक्षण गरिएको छ । नेपाल पन्छीविद् सङ्घको प्राविधिक टोलीले धौलागिरि गाउँपालिका–१ गुर्जा, ४ बगर र ढोरपाटन नगरपालिकाको बुर्तीवाङ घुसाखानीमा चिरकालिजको स्थलगत सर्वेक्षणका साथै समुदायस्तरमा संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको थियो ।

सङ्घका अध्यक्ष हथन चौधरी, उपाध्यक्ष मनशान्ता घिमिरे, कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौडेल, अनुसन्धान अधिकृत विराटराज रजक र सदस्य केशव चोखालको टोलीले स्थानीय समुदायको सहयोगमा बगरदेखि घुसाखानीसम्म सर्वेक्षणको काम गरेको थियो । दातृ निकाय टोलेडोजुको सहयोगमा डिभिजन वन कार्यालय म्याग्दी, बागलुङ र ढोरपाटन शिकार आरक्षसँगको समन्वयमा चिरकालिजको सर्वेक्षण गरिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।

चिरकालिजको प्रजनन हुने याम पारेर वासस्थान नजिकैको बगर, गुर्जा र घुसाखानीमा चिरकालिजको सर्वेक्षण गरिएको थियो । चिरकालिजको अनुमानित सङ्ख्यासहितको प्रतिवेदन चाँडै सार्वजनिक गरिने कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । सर्वेक्षकले चिरकालिजको आवाज सुनेर बसोबास रहेको पुष्टि र अनुमानित सङ्ख्या पहिचान गर्ने गर्छन् । यसअघि धौलागिरि गाउँपालिका–३ दर र वडा नं ४ मुदीमा चिरकालिजको वासस्थान रहेको भेटिएको थियो ।

अध्ययनमा सहभागी विराट रजकका अनुसार मुदीमा तीन र दरमा सात जोडी चिरकालिज भेटिएका थिए । चोरीशिकारी, अनियन्त्रित डढेलो र जलवायु परिवर्तन चिरकालिज संरक्षणका लागि चुनौतीपूर्ण मानिएको छ । चोरीशिकारी बाहेक गुडबाट अण्डा टिप्ने, पासो थाप्ने, चल्ला छोपेर घरमा ल्याएर पाल्न खोज्ने, अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समयमा हुने डढेलोका कारण चिरकालिज लोप हुने अवस्थामा छ । सङ्घले पछिल्लो छ वर्षयता दातृ निकाय ‘टुलेडोज’ुको सहयोगमा म्याग्दीको धौलागिरि गाउँपालिकाको साथै मुस्ताङको घाँसा क्षेत्रको कालीगण्डकी बेसिनमा चिरकालिजको सङ्ख्या पहिचानका लागि अध्ययन र संरक्षणको कार्य गर्दै आएको छ ।

कालीगण्डकी बेसिनमा हालै भएको अध्ययनका क्रममा १८ जोडी चिरकालिज भेटिएका थिए । धौलागिरि ढोरपाटनपछि सर्वेक्षण टोली मुस्ताङ पुगेको छ । समुद्री सतहदेखि एक हजार ४०० मिटरदेखि तीन हजार ६०० मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ । सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता हुन्छ ।

वैशाख, जेठ र असार चिरकालिजले अण्डा पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो । चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ । भिरमा नै वासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम चिरकालिजको वासस्थान हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा यसलाई लोपोन्मुख पन्छीको रूपमा सूचीकृत गरेको छ ।