काठमाडौं । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बुधबार महत्वपूर्ण भेटवार्ता भएको छ।
मे १४ तारिख बिहान पैचिङस्थित जन बृहत् सभा भवनमा भएको उक्त भेटवार्तामा दुई देशबीचको सम्बन्ध, विश्व राजनीति तथा व्यापारिक सहकार्यका विषयमा विस्तृत छलफल भएको हो।
भेटवार्ताका क्रममा राष्ट्राध्यक्ष सी चिनफिङले वर्तमान विश्व परिस्थिति तीव्र परिवर्तन र अस्थिरताबाट गुज्रिरहेको उल्लेख गर्दै चीन र अमेरिकाले ठूला राष्ट्रहरूबीच सम्बन्धको नयाँ नमुना निर्माण गर्नुपर्ने बताउनुभयो।
उहाँले विश्वले अहिले नयाँ मोडमा प्रवेश गरेको भन्दै दुई देशले सहकार्य गर्दै वैश्विक चुनौतीहरूको सामना गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको सिजिटिएनले जनाएको छ।
सी चिनफिङले चीन र अमेरिकाबीचको साझा हित मतभेदभन्दा ठूलो रहेको उल्लेख गर्दै दुवै देशको सफलता एक अर्काका लागि अवसर भएको धारणा राख्नुभयो। उहाँले स्थिर चीन–अमेरिका सम्बन्ध विश्वकै लागि लाभदायक हुने बताउँदै २०२६ वर्षलाई दुई देशको सम्बन्धमा ऐतिहासिक र प्रतीकात्मक वर्ष बनाउने अपेक्षा व्यक्त गर्नुभयो।
उहाँले व्यापार युद्धबाट कसैले पनि जित हासिल गर्न नसक्ने स्पष्ट पार्दै चीन–अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्ध आपसी हित र साझा विजयमा आधारित रहेको बताउनुभयो। साथै, हालै दुवै देशका आर्थिक तथा व्यापारिक टोलीबीच भएका छलफलबाट सकारात्मक उपलब्धि हासिल भएको र त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी राष्ट्रपति ट्रम्पले उक्त वार्ता विश्वकै ध्यानाकर्षणको विषय बनेको उल्लेख गर्दै चीन र अमेरिकाबीच भविष्यमा अझ सुमधुर सम्बन्ध विकास हुने विश्वास व्यक्त गर्नुभएको सिजिटिएनले जनाएको छ।











