२४ भाद्र २०८३, बुधबार
,
Latest
जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिजुली बलेको देख्ने सपना अधुरै



अ+ अ-

डोटी । जिल्लाको आदर्श गाउँपालिका–५ लामिखालकी सीता नागरी उमेरले ६१ वर्षकी हुनुभयो । उहाँ निरन्तर गाउँमै बस्नुहुन्छ । गाउँमै बस्ने भएकालाई उहाँलाई विद्युत्को विषयमा खासै जानकारी पनि छैन । विगत १६ वर्षअघि अर्थात् विसं २०६२ सालमा गाउँमा विद्युत्का पोल गाड्न सुरु हुँदा उहाँलाई घरमा बिजुली बलेको हेर्ने ठूलो धोको थियो ।

एक–दुई पटक मात्रै विद्युत् भएका शहरसम्म आउजाउ गर्नुभएकी उहाँलाई आफ्नो गाउँ पनि झिलीमिली भएको हेर्ने रहर जागेको थियो । विद्युत् विस्तारका लागि पोल गाडेको १६ वर्ष पूरा भयो तर सीताको सपना भने अझै पूरा भएको छैन । अब त उहाँले गाउँमा आफू बाँचुञ्जेल गाउँमा विद्युत् बल्छ भन्ने आश पनि मारिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँघरमा बत्ती बलेको, गाउँ झिलीमिली भएको हेर्ने ठूलो धोको थियो, यो जुनीमा देख्न पाइलाजस्तो लाग्न छोड्यो ।”

आव २०६२र६३ को बजेटबाट साबिकको लामिखाल गाविसले विद्युतीकरणका लागि रु १४ लाख विनियोजन गर्यो । उक्त रकमबाट पोल खरिद भए र ठाउँठाउँमा पोल पनि गाडिए । विसं २०६४/६५ बाट लामिखालको विद्युतीकरण केन्द्रीय योजनामा समावेश पनि भयो । प्रत्येक वर्ष बजेट आयो तर काम भने कहिल्यै पूरा भएन । प्रत्येक वर्ष ठेक्का हुने तर लामिखालमा भने वास्तै नगर्ने गरेको स्थानीयवासीको आरोप छ । ठेकेदारको लापरवाहीका कारण लामिखालवासीको बत्ती बाल्ने सपना सधैँ अधुरै रहेको स्थानीयवासी वीरबहादुर रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्युत् विस्तारका लागि गत वर्ष मात्रै रु ६५ लाख रकम विनियोजन भएको थियो, कति काम भयो र कति बजेट फ्रिज भयो हामीलाई केही थाह छैन ।” उहाँले विद्युत् प्राधिकरणमा कामै नगरी ठेकेदारले बिल मिलाएर खाने गरेको आरोपसमेत लगाउनु भएको छ । विगत १६ वर्षको यो अवधिमा आफूहरुले पटक पटक ठेकेदारसँग आग्रह गरेको र पटक पटक विद्युत् प्राधिकरणको दिपायल कार्यालय धाएको सम्झँदै रोकायाले थप भन्नुभयो, “हाम्रो आवाज कसैले सुन्दैनन्, विद्युत् विस्तारका लागि कसैले पनि अहिलेसम्म पहल गरेनन् ।”

उता सोही लामीखालका अर्का स्थानीयवासी नरबहादुर रोकायाको पनि यस्तै गुनासो छ । आदर्श गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले गाउँपालिकाका अध्यक्षलाई प्रश्न गर्नुभयो, “हामी कहिलेसम्म बत्ती बाल्न पाउँछौँ रु” उहाँको जवाफमा गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले भन्नुभयो, “मैले विद्युत् कार्यालयसँग पनि समन्वय गरेको छु, यस आर्थिक वर्षभित्रै लामिखालमा बत्ती बल्छ ।” कात्तिक २४ गते विद्युत् प्राधिकरणको दिपायलस्थित कार्यालयमा गएर विद्युत् विस्तारका लागि पुनः स्मरण गराएको स्थानीयवासी धर्म रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले छिटो बत्ती बाल्नु पर्यो भनेर अनुरोध गरेका छौँ, हाकिम साबले पनि आश्वासन दिनुभएको छ । यदि फेरि पनि विगत जस्तै लम्ब्याउने काम भयो भने बाध्य भएर आन्दोलन गर्नेछौँ ।” उता नेपाल विद्युत् प्राधिकरण दिपायल शाखाका प्रमुख कपिलदेव जोशीले आगामी चैत महिनाभित्रै बत्ती बाल्ने गरी लामिखाल क्षेत्रमा काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा गोपघाटबाट लाइन तान्ने गरी सर्वे भएको रहेछ, जङ्गल विवादका कारण उताबाट लाइन तान्न नसकिएको भन्ने मैले जानकारी पाएको छु, अब अन्तैबाट लाइन तानेर भए पनि चैत महिनाभित्रमै विद्युत् बालेर छोड्छौँ ।”

विद्युत् विस्तार नभएका कारण आदर्श गाउँपालिका–५ वर्षौंदेखि अन्धकारमा छ । उज्यालोका लागि त्यहाँका स्थानीयवासी अहिले पनि सल्लाको दियालोको भरमा आश्रित रहेको युवा सङ्घका सदस्य गणेशबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “छिमेकी गाउँपालिका तथा हाम्रै गाउँपालिकाका केही वडा झिलीमिली छन्, हामी ५ नं वडावासी सल्लाको दियालोको भरमा कहिलेसम्म रहने ।”