काठमाडौं । नेपाल कानून समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ प्रभावित व्यक्तिहरु र उनीहरुको परिवारको कानूनी र मौलिक हकको बारेमा नीतिगत रुपमा सुधार गर्नुका साथै निजहरुलाई आर्थिक सहयोग लगायत सामाजिक रुपमा सम्मान गर्ने काम सम्पन्न गरेको छ ।
ग्रामीण विकास प्रतिष्ठानले देशभरी रहेका करिव दुई लाख कुष्ठप्रभावित व्यक्तिहरुमध्ये २५ जना व्यक्तिहरुलाई प्रतिव्यक्ति २०,०००।– का दरले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
उक्त कुष्ठ प्रभावित व्यक्तिहरुको लागि सक्रिय रहेको विभिन्न बाह्रवटा संस्थाहरु ( फेयरमेड नेपाल, एशोसियसन फर आईडिया नेपाल, रिड नेपाल, सशक्तिकरण तथा विकास नेपाल, राष्ट्रीय कुष्ठ प्रभावित कल्याण संघ, न्यु सेडल, नेपाल कुष्ठरोग निवारण संघ, द लेप्रोसी मिशन नेपाल, सेवा केन्द्र कुष्ठरोग निवारण, लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्र, स्वयम् सहायता समुह, आईएनएफ, शान्ति सेवा गृह) को सिफारिसमा २५ जनाको नाम चयन गरिएको थियो । जसमा सातवटै प्रदेशका व्यक्तिहरु रहेका छन् ।
कुष्ठ प्रभावित व्यक्तिहरुको तर्फबाट सम्मानीत हुने व्यक्तिहरु– हंशे लुवार, मंगते थारु, पदम बहादुर राना, गंगा थारु, धन माया नेपाली दमै, करण चौधरी, जिरे खाली राई, चुचे कामी, झविन्द्र लम्साल, सपना माझी, देउमा बस्नेत, प्रेम बहादुर खड्का, पपलाल चौधरी, गोपाल बहादुर थापा मगर, बुद्ध सिं तामाङ, माया तामाङ, आशा चौधरी, नन्दलाल चमार, श्याम कुमारी सदा, जोगिन्द्र तत्मा, दैजल कुमारी झा, रामविहारी महत्तो कोइरी, रामकर्ण दास तत्मा, रजनी देवी ठाकुर बारहीले यो आर्थिक सहयोगबाट जिविकोपार्जनका लागि सानो व्यवसाय गर्ने, कुखुरा पालन गर्ने, बाख्रापालन गर्ने कार्यक्रमहरु तय गरेका छन् ।
यस कार्यक्रमबाट निजहरु सम्मानीत हुनुका साथै निजहरुको जीवनस्तरमा सहयोग पुग्ने कुरा टिएलएम नेपालका निर्देशक सोभाकर कडेलले बताउनु भयो । यसैगरी आईडिया नेपालका सभापति दिनेश बस्नेत, नेपाल कुष्ठरोग निवारण संघका जितबहादुर हमाल, लालगढ अस्पतालका व्यवस्थापक रमेश कुमार चौधरी, लावाका सभापति दिपक तिवारीले यस्तो किसिमको कार्यक्रमलाई निरन्तरता दिएमा आगामी दिनमा कुष्ठ प्रभावित व्यक्तिहरुलाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन आउने बताउन भयो ।
ग्रामीण विकास प्रतिष्ठानका सभापति कृष्णमान प्रधानले कुष्ठ प्रभावित व्यक्तिहरुको कानूनी र सामाजिक दृष्टिकोणबाट सुधार गर्नका साथै आर्थिक रुपमा पनि विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो । यस कार्यक्रममा सहयोग गर्ने एनसेल संस्थालाई धन्यवाद दिंदै आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने कुरा बताउनु भयो ।











