१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण



अ+ अ-

तनहुँ। तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको छ । यहाँ रहेका विभिन्न गुरुकूलमा अध्ययनका लागि विद्यार्थीको आकर्षण बढेको हो ।

देवघाट गाउँपालिका–५ स्थित श्रीहरिहर सन्यास आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकूल विद्यापिठमा ३० जनाका लागि भर्ना खुलाउँदा १८९ जनाले प्रवेश परीक्षाका लागि फारम भरेका छन् । विद्यापीठमा प्रवेश परीक्षामार्फत ३० जना विद्यार्थी छनोट गरिएको सहायक प्राचार्य कृष्णदेव पाण्डेले जानकारी दिनुभयो ।

पछिल्ला वर्षहरुमा संस्कृत शिक्षा वा गुरुकूल शिक्षामा अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्न थालेको उहाँको भनाइ छ । देवघाटका गुरुकूलहरु देशमै ख्याति प्राप्त रहेको कारण देशका अन्य गुरुकूलभन्दा देवघाटका गुरुकूलमा विद्यार्थीको आकर्षण बढ्ने गरेको उहाँले बताउनुभयो ।

विगतमा संस्कृत अध्ययनका लागि भारतको बनारस र बृन्दावन जाने प्रचलन थियो । भारतमा संस्कृतको उच्च शिक्षा लिने र नेपाल फर्केर पुराणलगायतका धार्मिक अनुष्ठानको नेतृत्व गर्ने कुरा अहिले पनि सामान्य लाग्छ । तर, समयको परिवर्तनसँगै नेपालमा संस्कृत पढ्न भारतबाट बटुकहरु आउन थालेको उहाँले उल्लेख गर्नुभयो ।

सोही वडास्थित महेश संस्कृत गुरुकूलले ३२ जना विद्यार्थीको लागि आवेदन खुलाउँदा २५० भन्दा बढी प्रवेश परीक्षामा सहभागी भएका छन् । देवघाटमा रहेका तीनवटा गुरुकूलले कक्षा ६ मा प्रत्येक वर्ष २५ देखि बढीमा ३५ जनासम्म विद्यार्थी भर्ना गर्ने गरेको छ ।

केही वर्षयता गुरुकूलमै बसेर संस्कृत पढ्न चाहनेहरुको सङ्ख्या बढिरहेको महेश संस्कृत गुरुकूलका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले बताउनुभयो । उक्त गुरुकूलले प्रत्येक शैक्षिक सत्रमा बढीमा ३२ जना मात्र विद्यार्थी भर्ना गर्ने गरेको छ ।

खान, बस्न र पढ्न कुनै शुल्क नलाग्ने भएकाले अभिभावकहरुको रोजाइ गुरुकूल हुने गरेको छ । त्यसबाहेक संस्कृत भाषा र हिन्दू धर्मप्रतिको बढ्दो आकर्षणले विद्यार्थीहरु गुरुकुल आउने पौडेलको भनाइ छ । देवघाटमा सञ्चालित सबै गुरुकूलहरु दाताको भरमा नै सञ्चालन हुँदै आएका छन् । राष्ट्रियता तथा विश्वबन्धुत्वको भावना विकास गर्नका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञान विज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तीन गुरुकूलहरु सञ्चालित छन् ।

गुरुकूलहरुले बटुकलाई सनातन धर्म, संस्कार र संस्कृतिका बारेमा ज्ञान दिँदै आएका छन् । देवघाटमा बटुकका लागि महेश सन्यास आश्रमद्वारा सञ्चालित महेश संस्कृत गुरुकूल, गलेश्वर आश्रमले सञ्चालन गरेको वेद वेदाङ्ग संस्कृत गुरुकूल, हरिहर आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकूल र बालिकाहरुको लागि माताजीले सञ्चालन गरेको माँ कल्याणी बैदिक कन्या गुरुकूल सञ्चालनमा छन् ।

देवघाटमा सञ्चालित सबै गुरुकूलमा करिब ७०० बटुक अध्ययनरत छन् । प्रत्येक गुरुकूलमा करिब २२५ देखि ७५ सम्म बटुक अध्ययनरत छन् । महेश संस्कृत गुरुकूलमा शास्त्री र आचार्य (स्नातक र स्नातकोत्तर) पढाइ भइरहेको छ । परमानन्द संस्कृत गुरुकूलमा आचार्यसम्मको पठनपाठन सुरु गरिएको छ । त्यस्तै वेद वेदाङ्गमा शास्त्री तहसम्मको पढाइ हुन्छ ।

ती सबै गुरुकूलले राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरी परीक्षामा सहभागी गराउँदै आएका छन् । शास्त्री तथा आचार्य तहका लागि नेपाल संस्कृत विश्वविद्यालय दाङबाट सम्बन्धन प्राप्त गरी अध्यापन भइरहेको छ । रासस