काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निलम्बनमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरूको विदेश यात्रा रोक लगाएको छ ।
आर्थिक अनियमिततासम्बन्धी छानबिनलाई प्रभावित हुन नदिन यस्तो निर्णय गरिएको हो । खेलकुद मन्त्रालय स्रोतका अनुसार एन्फाको आर्थिक गतिविधिमाथि भइरहेको अनुसन्धानका क्रममा सबै पदाधिकारीलाई विदेश जान प्रतिबन्ध लगाइएको हो ।
राखेपले एन्फाको वित्तीय विषयमा छानबिन गर्न कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिसकेको छ । छानबिन निष्पक्ष र प्रभावकारी बनाउन पदाधिकारीहरूको विदेश भ्रमणमा रोक लगाउन मन्त्रालयलाई पत्राचार गरिएको जनाइएको छ ।
त्यसपछि खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत प्रक्रिया अघि बढाएपछि अध्यागमन विभागले सम्बन्धित पदाधिकारीहरूको पासपोर्ट रोक्का गरेको बताइएको छ । अर्ली इलेक्सन विवादसँग सम्बन्धित परिस्थितिका कारण राखेपले चैत ११ गते एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।











