१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताको आशा र भरोसा टुट्न दिनेछैन: भट्टराई



अ+ अ-

चिप्लेढुङ्गा । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा उम्मेदवार विद्या भट्टराईले जनताले आफूमाथि गरेको आशा र भरोसालाई टुट्न नदिइने बताएकी छिन । मङ्सिर १४ गते सम्पन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचन परिणामपछि विजयको प्रमाणपत्र ग्रहण गरेसँगै आइतबार साँझ पत्रकारसँग कुरा गर्दै उनले जनताले जुन उत्साहका साथ मतदान गरेर जिताउनुभयो अबको बाँकी समय तिनकै सेवक भएर बिताउँछु भनिन । “राजनीतिमा अझै पनि धेरै चुनौती छन्, राजनीतिक संस्कारको अभााव छ ।

युवामा राजनीतिप्रतिको विश्वास गुमेको छ, अबको राजनीतिले नयाँ पुस्ताको रुचिलाई सम्बोधन गर्न सक्नुपर्छ, जनताको चाहनालाई सुनुवाइ गर्नुपर्छ”, प्राध्यापन पेशाबाट राजनीतिमा फर्कनुभएका उनले भनिन् । उपनिर्वाचनमा मतदाताले समुद्ध नेपाल सुखी नेपालीका अभियानकर्मी आफ्ना जीवनसाथी रवीन्द्रप्रसाद अधिकारीको पनि सम्मान गरेको बताईन् । भट्टराई उनले आइतबार पोखरा महानगरपालिका २० मा श्रमिकको बाटो निर्माण क्रममा पुरिएर मृत्यु भएको घटनाले आफूलाई निकै दुःखी बनाएको छ भन्दै मृतक मजदूरप्रति श्रद्धाञ्जलि अर्पण गरिन् ।

अनेरास्ववियुका सचिवसम्म रहेका भट्टराईले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेलले आफूलाई बधाई दिएर देखाएको राजनीतिक संस्कारप्रति पनि धन्यवाद दिईन् । नेकपाका नेता तथा भट्टराईका पति तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत वर्ष फागुन १५ गते हवाई दुर्घटनामा निधन भएपछि कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि पुनः निर्वाचन भएको थियो ।

कास्कीमा क्षेत्र नं २ मा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५६३ मत खसेको थियो । भट्टराईले २४ हजार ३९४ र उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका थिए । आठ हजार ४०३ को मतान्तरले भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।