८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दीपुरमा केबुलकार



अ+ अ-

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको केबुलकार एक वर्षभित्र सञ्चालन हुने गरी निर्माणको कामले तीव्रता पाएको छ ।

बन्दीपुर केबुलकार परियोजनाअन्तर्गत अहिले बटम स्टेशनको काम धमाधम चलिरहेको छ । परियोजनाको साझेदार कम्पनी आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले एक वर्षभित्र केबुलकार सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिइएको जानकारी दिनुभयो ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माण भइरहेको उक्त भवनको लागत रु १८ करोड ५५ लाख रहेको छ । भवन एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो लिमिटेड, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फन्ड, बन्दीपुर गाउँपालिकाको साझेदारीमा निर्माण हुन लागेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ ।

केबुलकारको माथिल्लो स्टेशनमा दश तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । रु ८२ करोडको लागतमा निर्माण हुने उक्त भवनमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण गरिने शर्माले जानकारी दिनुभयो । “होटलसहितको भवन निर्माणका लागि भर्खरै मात्र नक्सा पास सम्पन्न भएको छ”, शर्माले भन्नुभयो, “अब यसलाई पनि निर्माणको चरणमा लैजान्छौँ ।”

अध्यक्ष शर्माका अनुसार रेष्ट्रो जोन, शपिङ मल र केबुलकारको ड्राइभ स्टेशन, टिकट काउन्टर र उत्तर दक्षिण प्यासेजको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । पाँच सय क्षमताको सभाहलसमेत उक्त भवनमा निर्माण गरिनेछ ।

प्रारम्भमा रु ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबुल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणहरु जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।

कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । केबुलकार कम्पनीमा २२५ जनाभन्दा बढी स्थानीयवासीले शेयर हालिसकेका छन् ।

स्थानीयवासीबाट केबुलकार निर्माणका लागि करिब रु तीन करोड शेयर सङ्कलन भएको छ भने बन्दीपुर गाउँपालिकाले रु ५० लाख शेयर लगानी गरेको छ । “परियोजनामा सबै क्षेत्रको लगानी सुनिश्चित गर्न निजी, सामुदायिक, सहकारी, सरकारी र संस्थागत साझेदारी एवं व्यवस्थापनको मोडेलमा पूँजी निर्माण गरिनेछ,” उहाँले भन्नुभयो ।

ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो हुने दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गास्वाँरादेखि शुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर छसय मिटर यात्रा गर्नेछ ।

डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबुलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ ।