१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको… बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न राप्रपाको माग राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, पछिल्लो सुरक्षा अवस्थाबारे छलफल हुँदै मार्गप्रशस्त गर्न सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह सुनसरी घटनाबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सांसद शर्माको माग शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिरिक्त कक्षा सञ्चालनपछि अतिविपन्न दलित बालबालिकाका लाभान्वित



अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयको  आधारभूत तहमा अध्ययनरत अतिविपन्न दलित परिवारका बालबालिकाका लागि अङ्ग्रेजी माध्यमको अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । त्यस्ता बालबालिकाको सिकाइ सुधारका लागि वडा कार्यालयको सहयोगमा कक्षा सञ्चालन गरिएको हो ।

हाल यहाँ कक्षा १ देखि ३ सम्म अध्ययनरत ६६ जना दलित तथा अतिविपन्न परिवारका बालबालिकालाई समेटेर अतिरिक्त कक्षा सञ्चालन गरिरहेको वडाअध्यक्ष लालबहादुर ऐरले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका परिवारका अभिभावक मजदुरीका लागि अन्यत्र जाने र बालबालिकालाई पनि सँगै लैजाने गरेका कारण धेरै बालबालिकाले विद्यालय छाड्ने अवस्था छ ।

केही महिना मजदुरी गरेर फर्किएपछि बालबालिकाको सिकाइ सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । “अभिभावक मजदुरीका लागि बाहिर जाँदा बालबालिका पनि सँगै जाने र विद्यालय छोड्ने अवस्था छ । पुनः विद्यालयमा फर्किंदा कोर्स पढाइ धेरै अगाडि बढिसकेको हुन्थ्यो । हामीले त्यसको पूर्ति गर्न अतिरिक्त कक्षा सञ्चालन गरेका हौँ”, वडाअध्यक्ष ऐरले भन्नुभयो ।

हाल कक्षा ३ सम्मका बालबालिकाका लागि विद्यालयका दक्ष शिक्षकको व्यवस्था गरी पठनपाठन गरिएको र  आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई समेटेर कार्यक्रम विस्तार गर्ने योजना रहेको वडा कार्यालयले जनाएको छ । हाल अतिरिक्त कक्षा सञ्चालनका लागि वडा कार्यालयले रु चार लाख विनियोजन गरेको छ ।

दलित समुदायका बालबालिका विद्यालय समयमा नियमित र त्यसपछि अतिरिक्त कक्षामा थप अध्ययन गर्ने व्यवस्था गरिएको छ । त्यस्ता बालबालिकाका लागि वडाबाट वर्षभरि पुग्ने शैक्षिक सामग्री, अङ्ग्रेजी विषयका पाठ्यपुस्तक, झोला, पोसाक, ट्र्याकसुट, जुत्ता, मोजालगायत सामग्री उपलब्ध गराइएको वडाअध्यक्ष ऐरले जानकारी दिनुभयो ।

विद्यालयका शिक्षक भरतबहादुर ऐरका अनुसार बालबालिकालाई दुईवटा कक्षामा विभाजन गरेर पठनपाठन गरिँदै आएको छ । अतिरिक्त कक्षा सञ्चालन भएपछि बालबालिकाको पढाइमा उल्लेखनीय सुधार देखिएको उहाँले बताउनुभयो । “पहिले धेरै बालबालिका पढाइमा कमजोर थिए, विद्यालय पनि नियमित आउँदैनथे”, ऐरले भन्नुभयो, “हाल बालबालिका नियमित विद्यालय आउन थालेका छन् र पढाइमा पनि सुधार भइरहेको छ ।”

यस कार्यक्रमले विद्यालयमा घट्दै गएको विद्यार्थी सङ्ख्या बढाउन पनि सहयोग पुगेको विद्यालय प्रशासनले जनाएको छ । वडा कार्यालयले आगामी दिनमा अझ प्रभावकारी रूपमा दलित तथा अतिविपन्न बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने योजना बनाएको छ । विद्यालयमा छात्रावास निर्माण कार्य पूरा भएपछि अतिविपन्न दलित बालबालिकालाई छनोट गरी आवासीय रूपमा राखेर पढाइ गराउने योजना रहेको वडाअध्यक्ष ऐरले बताउनुभयो ।

“छात्रावास बनेपछि टाढाका र अतिविपन्न परिवारका बालबालिकालाई आवासीय रूपमा राखेर पढाउने योजना छ”, उहाँले भन्नुभयो, “वडा कार्यालयले विपन्न बालबालिकाको शिक्षामा पहुँच पु¥याउन अभिभावक बनेर काम गरिरहेको छ र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ ।”

वडास्तरबाट लक्षित वर्गका बालबालिकाका लागि सञ्चालन गरिएको यस्तो कार्यक्रमले शिक्षामा पहुँच विस्तार, विद्यालय छाड्ने दर घटाउने र शैक्षिक गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुने अवस्थामा रहेका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको यस्तो कार्यक्रमले स्थानीय अभिभावक पनि खुसी छन् ।

“यस कार्यक्रमले विशेषगरी दलित तथा अतिविपन्न परिवारका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको पाइएको छ”, दलित अधिकारकर्मी सिवी लुहारले भन्नुभयो, “कक्षा अनुगमन गर्दा बालबालिकाको नियमितता, पढाइप्रति रुचि र शैक्षिक उपलब्धिमा सुधार पाएका छौँ ।” रासस