२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार वर्षदेखि औषधालय चिकित्सकविहीन



अ+ अ-

जुम्ला । आयुर्वेद औषधालय चार वर्षदेखि डाक्टरविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

डाक्टर रमेश केसी ०७२ मङ्सिरमा सरुवा भएपछि केही महिनापछि डाक्टर विवेक गुप्ता अस्थायीरूपमा आए पनि नियमित एक महिना काम नगरेरै गएपछि औषधालय डाक्टरविहीन अवस्थामा रहेको हुँदा सेवाग्राही मर्कामा परेका हुन् ।

अहिले वैद्य गोर्खबहादुर रावतकोे भरमा औषधालय चलिरहेको छ । सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि दिनेसम्मको काम गर्न सकिएको भए पनि जटिल प्रकृतिका बिरामी आएमा निकै समस्या हुने गरेको आयुर्वेद वैद्य रावतले बताउनुभयो ।

औषधालयमा डाक्टर नभएपछि शल्याक्रियाका काम हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “न्यूनतम शुल्कमा पाइल्स, घाउखटिराका शल्यक्रिया गर्ने गरेका थियौँ । अहिले डाक्टर नभएपछि त्यो काम हुन सकेको छैन ।” उहाँले भन्नुभयो, “आयुर्वेद विभागमा पटकपटक पत्रचार गरेर डाक्टर पठाइदिन माग गरेका छौँ । अहिलेसम्म सुनुवाइ भएको छैन ।’

वैद्य रावतका अनुसार चिकित्सकीय सेवा र सामान्य स्वास्थ्यकर्मीले दिने सेवामा धेरै फरक हुन्छ । उहाँले भन्नुभयो, “त्यसैले पनि डाक्टर पठाइदिन बेलाबेलामा ताकेता गरेका छौँ तर, पनि विभागले सुनुवाइ गरेको छैन ।” “अहिले कर्णाली प्रदेशले प्रदेशभरि जिल्लामा पुग्ने गरी आयुर्वेद औषधालयका लागि डाक्टरसहित अन्य दक्ष जनशक्तिको विज्ञापन गरेको छ”, उहाँले भन्नुभयोे, “अब डाक्टर आउने सम्भावना बढेको छ ।”

यस्तै आयुर्वेद औषधालयमा राष्ट्रिय मानवअधिकार आयोग, प्रदेश कार्यालय जुम्ला, अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०, पत्रकारलगायतको टोलीले अनुगमन गरेको छ । औषधालयमा पटकपटक औषधि र स्वास्थ्यकर्मीको अभाव भएको सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि राष्ट्रिय मानवअधिकार आयोग, कर्णाली प्रदेश कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख नरेन्द्र खत्री, पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईलगायतको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा आयुर्वेद औषधालयमा औषधि पर्याप्त भए पनि दक्ष स्वास्थ्यकर्मी नभएका कारण समस्या देखिएको आयोग प्रदेश कार्यालय जुम्लाका निमित्त प्रमुख नरेन्द्र खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो औषधालयमा विगत चार वर्षदेखि डाक्टर दरबन्दी रिक्त नै रहेको छ । दरबन्दी पदपूर्तिका का लागि कार्यालयले पटकपटक पहल गर्दा पनि सुनुवाइ नभएको बुझिन आएको छ ।”

यहाँ डाक्टरसहित अन्य स्वास्थ्यकर्मी पनि अभावले बिरामीको उपचारमा समस्या देखिएको पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले बताउनुभयो । बिजुली नभएका कारण आवश्यक उपकरण पनि प्रयोगविहीन भएको औषधालयका वैद्य गोर्खबहादुर रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “उपकरण प्रयोगमा नआएरै सबै पुराना भएका छन् ।”

चालु आवमा रु चार लाख ९० हजारको औषधि खरिद गरेकाले औषधि पर्याप्त नै छ तर आवश्यक दक्ष स्वास्थ्यकर्मी नभएका कारण समस्या हुने गरेको जनाएको छ । पहिलो सङ्घीय सरकारअन्तर्गत कर्णाली अञ्चल आयुर्वेद औषधलायको रुपमा रहेको कार्यालयलाई अहिले कर्णाली प्रदेशअन्तर्गत जनस्वास्थ्य कार्यालय जुम्ला, आयुर्वेद औषधालय शाखाका रुपमा रहेको छ ।

स्थायी कर्मचारीका रुपमा एक जना वैद्य र एक जना कार्यालय सहयोगी मात्र छन् । तीन जना करार सहयोगी कर्मचारी रहेका छन् । औषधालयमा हिउँदे सिजनमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गराउनका लागि आउँछन् भने वर्षा सिजनमा ५० देखि ६० बिरामी आउने गर्दछन् । धेरैजसो अमलपित्त, श्वासप्रस्वास, कमलपित्त, स्त्रीरोग, पाइल्स, बाथ, मुत्रविकार, छालासम्बन्धीका बिरामी उपचारका लागि आउने गर्दछन् । कमलपित्त र श्वासप्रस्वासका बिरामी सबैभन्दा बढी आउने गरेको औषधालयले जनाएको छ ।