१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामप्रसादराईमा दुई शीत भण्डारण निर्माण



अ+ अ-

भोजपुर। स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजको भण्डारण र बजारीकरण सहज बनाउने उद्देश्यका साथ भोजपुरको रामप्रसादराई गाउँपालिकाले दुईवटा शीत भण्डारण (कोल्ड स्टोर) निर्माण गरेको छ ।

उत्पादन भएका कृषि उपजलाई सुरक्षित रूपमा भण्डारण गरी बेमौसममा समेत उचित मूल्य पाउने वातावरण सृजना गर्ने लक्ष्यका साथ शीत भण्डारण केन्द्र निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका वडा नं १ ओख्रेमा रु एक करोड ५० लाख लागतमा ७२ हजार केजी भण्डारण क्षमताको शीत भण्डारण निर्माण गरिएको छ । गाउँपालिका केन्द्र वैकुण्ठेमा चिस्यान केन्द्रसम्म पुग्ने पहुँचमार्ग ढलानसहित रु तीन करोडको लागतमा ३६ हजार केजी क्षमता भएको अर्को शीत भण्डारण केन्द्र निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत आङलाक्पा तामाङले जानकारी दिनुभयो ।

दुवै शीत भण्डारण केन्द्र सञ्चालनको अन्तिम तयारीमा रहेको उहाँले बताउनुभयो । “स्थानीय कृषि उपजको भण्डारणका लागि दुईवटा शीत भण्डारण निर्माण गरेका छौँ, ओख्रेको शीत भण्डारण केही दिनमा प्रयोगमा आउने छभने वैकुण्ठेस्थित केन्द्र पनि छिट्टै सञ्चालनमा ल्याइनेछ”, उहाँले भन्नुभयो ।

शीत भण्डारणलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्न गाउँपालिकाले ‘शीत भण्डारण सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८२’ तयार गरी लागू गरेको छ । कार्यविधिअनुसार छुट्टै शीत भण्डारण सञ्चालन कोषको व्यवस्था गरिएको छ । हाललाई रु तीन लाखको सञ्चालन कोष स्थापना गरिएको र आवश्यकताअनुसार त्यसलाई क्रमशः वृद्धि गर्दै लैजाने योजना रहेको तामाङले जानकारी दिनुभयो ।

कार्यविधिअनुसार गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज आफैँ खरिद गरी शीत भण्डारणमा राख्ने व्यवस्था गरिएको छ । किसानले आफ्नै इच्छाले उपज भण्डारण गर्न चाहेमा प्रतिकेजी रु पाँच शुल्क तिर्नुपर्ने व्यवस्था छ । किसानले शीत भण्डारणमार्फत बिक्री गरी आएको नाफाको ५० प्रतिशत हिस्सा गाउँपालिकालाई बुझाउनुपर्ने प्रावधान पनि कार्यविधिमा समावेश गरिएको छ ।

किसानले आफैँ भण्डारणका लागि राखेका कृषि उपज बिग्रिएमा त्यसको जिम्मेवारी गाउँपालिकाले लिने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत तामाङले बताउनुभयो । यसले किसानलाई जोखिममुक्त भएर उत्पादन भण्डारण गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार किसानले उत्पादन गरेका कृषि उपजको सहज भण्डारणसँगै बजारीकरण सुनिश्चित गर्ने उद्देश्यले शीत भण्डारण केन्द्र निर्माण गरिएको हो । “किसानले उत्पादन गरेका कृषि उपजको भण्डारण तथा बजारीकरणमा गाउँपालिकाले आवश्यक भूमिका खेल्नेछ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँ सङ्कलन र भण्डारण गरिएका उपजलाई बेमौसममा बजार पुर्याएर किसानलाई राम्रो मूल्य दिलाउने हाम्रो लक्ष्य हो ।”

उहाँका अनुसार गाउँपालिकाको कृषि एम्बुलेन्समार्फत किसानको खेतबारीदेखि शीत भण्डारण केन्द्रसम्म उपज ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । यसले किसानको ढुवानी लागत घटाउनुका साथै बजार पहुँचलाई थप सहज बनाउने गाउँपालिकाले जनाएको छ ।

शीत भण्डारण केन्द्रलाई दिगो र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक कर्मचारीको व्यवस्था पनि गरिने गाउँपालिकाले जनाएको छ । यस पहलले स्थानीय कृषि उत्पादनको संरक्षण, मूल्य अभिवृद्धि र किसानको आम्दानी वृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

शीत भण्डारणको स्वमित्व हाल गाउँपालिकाको रहे पनि किसान, कृषि समूह, सहकारीले पूर्ण, आशिंक र साझेदारीमा सञ्चालन गर्न चाहेमा पनि सञ्चालन गर्न सक्ने व्यवस्था कार्यविधिमा रहेको छ । यहाँ किसानले सुन्तला, किवी, स्कुस, आलु, टमाटर, तरकारीलगायत नगदे बालीको व्यावसायिक रूपमा खेती गर्दै आएका छन् ।

किसानलाई व्यावसायिक रूपमा जैविकखेती प्रणालीमा लाग्न गाउँपालिकाले योजनाबद्ध रूपमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । व्यावसायिक रूपमा कृषिमा लागेका किसानले उत्पादन गरेका कृषि उपजलाई व्यवस्थित ढङ्गले बजारसम्म पुर्याउने लक्ष्यले शीत भण्डारणको अवधारणाअनुसार कामलाई अघि बढाएको जनाएको छ । रासस




भर्खरै