१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानसँग नेपाल १८ रनले पराजित



अ+ अ-

काठमाडौँ । क्रिकेट विश्वकप लिग २ खेलमा नेपाल ओमानसंग हारेको छ । ओमानले नेपाललाई १८ रनले पराजित गरेको छ । १ सय ९८ रनको लक्ष्य लिएर आएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रनमा अलआउट भयो । लिग २ मा नेपालको यो पहिलो खेल हो भने ओमानले ७ खेल खेलिसकेको छ । ओमान ५ जितका साथ ७ राष्ट्र सहभागित प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ । नेपालको घरेलु मैदानमा यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । शरद भेषावकरले नेपालका लागि ५५ रन बनाए पनि विजय हात पार्न भने सकेन् । १ सय ८ बल खेलेका उनले ५ चौका प्रहार गरे ।

कप्तान ज्ञानेन्द्र मल्ल १ र पूर्व कप्तान पारस खड्कालाई ३ रनमा गुमाएको नेपालबाट दीपेन्द्रसिंह ऐरी ३६, आरिफ शेख ६ रनमा आउट भए । विनोद भण्डारीले २५ बलमा २६ र सन्दीप लामिछानेले २७ बलमा २८ रन बनाई शरदलाई राम्रो साथ दिँदा नेपालको विजय सम्भावना देखिएको थियो । यता रोहितकुमार पौडेल र करण केसीले भने खाता खोल्न सकेनन् । ओमानका कप्तान जिशान मक्सुदले १० ओभरमा ३ मेडन राख्दै ३० रन खर्चिएर ३ विकेट लिए । त्यस्तै कलिमुल्लाहले २ विकेट लिए । यसअघि नेपालले टस जितेपछि ब्याटिङमा आएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ९७ रन बनाएको हो ।

ओमानबाट मोहम्मद नदिमले सर्वाधिक ६९ रन बनाए । ९६ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । अर्का अविजित ब्याट्सम्यान बिलाल खानले ८ रन बनाए । ओमानबाट अन्य खेलाडीमा जतिन्दर सिंह ४, खावर अली ५, अकिब इलयास १६, सन्दीप गौड ३३, बादल सिंह ५, नसिम खुशी २८ र कलिमुल्लाह १ रन बनाइ आउट भए । नेपालबाट करण केसीले ४ विकेट लिए । ओमानका ओपनरद्वय जतिन्दर र खावर अलीलाई आउट गरेका करणले ९ ओभरमा १ मेडन राख्दै ४७ रन खर्चे ।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका सुसन भारीले उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चेर ३ विकेट लिए । उनले एकै ओभरमा कप्तान जेसन मक्सुदलाई २० र सुरज कुमारलाई शुन्यमा आउट गरी नेपाललाई खेलमा हाबी बनाएका थिए । अर्को एक विकेट दीपेन्द्रसिंह ऐरीले लिए । डेब्यु गर्ने अर्का खेलाडी अविनाश बोहराले ९ ओभरमा २ मेडन राख्दै ३८ रन खर्चिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ४५ रन खर्चेर विकेट लिन चुके ।