२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल निर्माणका लागि सात रोपेनी जग्गा निःशुल्क दिए



अ+ अ-

सिञ्जा । कनकासुन्दरी गाउँपालिकाले इलाका स्वास्थ्य चौकी हाडसिञ्जामा १५ श्ययाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ । सो क्षेत्रमा अस्पताल नहुँदा स्थानीयवासी उपचारबाट वञ्चित हुँदै आएका छन् । अस्पताल भवन निर्माणका लागि स्थानीयवासीले वडा नं ४ हाडसिञ्जामा सात रोपेनी जग्गा निःशुल्क उपलब्ध गराएको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले बताए । रविलाल आचार्य र नाना आचार्यलगायतका स्थानीयवासीले १५ श्ययाको अस्पताल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । उनका अनुसार रु २५ देखि ३० लाख मूल्य बराबरको उक्त जग्गामा तीन भवन बन्ने छन् ।

सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ योजनाअन्तर्गत अस्पताल निर्माण गर्न लागिएको उनले बताएका हुन् । गत माघ २८ गते स्वास्थ्य मन्त्रालयमा निर्माण प्रक्रियाको फाइल दर्ता आफैंले गरेको इन्चार्ज उपाध्यायले जानकारी दिए । ल्याबमा चाहिने उपकरण आइसकेको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाले जनाएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुबाट रु चार लाख बराबरको ल्याबमा चाहिने उपकरण स्वास्थ्य चौकीमा पुगिसकेको छ । काठमाडौंदेखि जिल्लासम्म ढुवानी खर्च रु २० हजार कनकासुन्दरी गाउँपालिकाले सहयोग गरेको छ भने जिल्लादेखि इलाका स्वास्थ्य चौकी हाडसिञ्जासम्म स्वास्थ्यका लागि सक्षम प्रणाली कार्यक्रमले सहयोग गरेको छ ।

जुम्लाका आठै स्थानीय तहमध्ये १५ श्ययाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउने पहिलो गाउँपालिका भएको उपाध्यायले जिकिर गरे । उनले अस्पताल बनाउनका लागि प्रक्रियासमेत अगाडि बढिसकेको बताए । उक्त अस्पताल निर्माणपछि गाउँपालिकाभित्रका बिरामीलाई उपचारका लागि घण्टौँ हिँडेर सदरमुकाम पुग्नुपर्ने अवस्था अन्त्य हुनेछ । इलाका स्वास्थ्य चौकी हाडसिञ्जामा अस्पतालमा स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाइने भएपछि त्यहाँका स्थानीयवासी खुशी देखिएका छन् ।