२८ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा



अ+ अ-

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकार निर्वाचनको तयारीमा केन्द्रित रहेको बताउनुभएको छ ।

१९ औँ संघीय संसद सेवा दिवसको अवसर पारेर आईतवार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री सिन्हाले निर्वाचनपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि संसद सेवाका कर्मचारीहरुको भुमिका महत्वपूर्ण हुने समेत स्पष्ट पार्नुभयो । उहाँले कानूनहरु स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुनेगरी निर्माण गर्नका लागि सरकारले अध्ययनको कामलाई अघि बढाएको उल्लेख गर्दै त्यसमा संघीय संसदको सुझाव अति उपयोगी हुने विश्वास समेत व्यक्त गर्नुभयो । मन्त्री सिन्हाले कानून निर्माण गर्ने संघीय संसदको कामलाई प्रभावकारी बनाउने काममा त्यहाँ कर्मचारीहरुको योगदान उल्लेख्य हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हामी निर्वाचनको तयारीमा लागेका छौँ । निर्वाचन गरेपछि प्रतिनिधि सभालाई अझ जीवन्त बनाउन हामी सबैको सहयोगको आवश्यकता रहेको छ । जनप्रतिनिधिहरुको सर्वोच्च संस्था रही कानून निर्माण गर्ने मुख्य जिम्मेवारी बोकेको संघीय संसदको विशेष सहयोगीको रुपमा रहेको संसद सेवालाई लिइन्छ । यो सेवा एक विशिष्टकृत सेवा हो । संघीय संसदको कार्य सञ्चालनका लागि यसलाई व्यवस्थित र मर्यादित ढंगले अघि बढाउन संघीय संसद सेवाको भुमिका महत्वपूर्ण हुन्छ । कानूनहरु स्पष्ट, सरल, बोधगम्य र पठनयोग्य हुने गरी निर्माण गर्नु आजको आवश्यकता हो । हामी कानून मन्त्रालयको तर्फबाट पनि एउटा कोशिस थालनी गरेका छौ । कानूनका शब्दहरु, कानूनका भाषाहरु सरल कसरी बनाउने ? त्यसका निमित्त के हुनसक्दछ भन्ने कुरोका अध्ययन अहिले भइरहेको छ । यसका लागि कानून निर्माण गर्ने संस्था संसदको भुमिका पनि अहम रहन्छ । यसका यहाँहरुको त विशेष भूमिका रहन्छ । संसदको भुमिकालाई प्रभावकारी बनाउन संसद सेवा कर्मचारीको भुमिका महत्वपूर्ण हुन्छ ।’

मन्त्री सिन्हाले संघीय संसदको कामलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षले विशेष भुमिका निर्वाह गर्न आवश्यक रहेको समेत बताउनु भयो ।