६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए

सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए
अ+ अ-

भद्रपुर । “छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका छौँ ?” फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ आयो, “आज मन्दिर गएर पूजा गरेर आएको हुँ मम्मी । हजुर बिरामी परिरहनुहुन्छ नि, त्यसकै लागि पूजा गरेको हुँ ।”

यो छोटो तर भावुक संवाद झापाको भद्रपुर नगरपालिका–३ गोलेचोकका २० वर्षीय सविन विश्वकर्मा र उहाँकी आमा लालमाया विश्वकर्माबीच भएको अन्तिम कुराकानी थियो । आमाको स्वास्थ्यलाभको कामनासहित मन्दिरमा पूजा गरेर फर्किएका सविनको त्यो हँसिलो अनुहार आज परिवारका लागि सम्झनाको तस्बिर मात्र बनेको छ ।

गत साताको शनिबार भारतको उत्तरी गोवास्थित एक नाइटक्लब तथा रेस्टुराँमा भएको भीषण आगलागीले सविनको जीवनसँगै उहाँका सपना, योजना र परिवारका आशा सबै निभाइदियो । उक्त आगलागीमा पाँच जना नेपालीसहित २५ जनाको ज्यान गएको थियो । सोही नाइटक्लबमा सेफका रूपमा कार्यरत सविन निसास्सिएर ज्यान गुमाउनेमध्ये एक हुनुहुन्थ्यो ।

सविनको मृत्युको खबर परिवारका लागि अकल्पनीय थियो । बिहीबार दिउँसो मात्रै उहाँको शव झापा आइपुग्यो र शुक्रबार अन्त्येष्टि गरियो । “छोराको शव देखेपछि मात्र पत्याउन सक्यौँ”, सविनका बुबा टीकाराम विश्वकर्माले भारी मनले भन्नुभयो, “नत्र त अझै कतै बाँचिरहेको होला भन्ने आशा थियो ।”

सविन टीकाराम र लालमायाका जेठा छोरा हुनुहुन्छ । उहाँले झापामै होटल म्यानेजमेन्टमा डिप्लोमा अध्ययन गर्नुभएको थियो । सानैदेखि आत्मनिर्भर बन्ने सोच राख्ने सविन पढाइमा मात्र होइन, कामप्रति पनि उत्तिकै जिम्मेवार हुनुहुन्थ्यो ।

डिप्लोमा सकेपछि उहाँले भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित एक होटलमा छ महिना ‘इन्टर्नसिप’ गर्नुभएको थियो । त्यसपछि केही समय झापाकै विभिन्न होटलमा तीन–चार महिना काम गर्नुभयो । “छोराले जे काम गरे पनि मन लगाएर गथ्र्यो”, आमा लालमाया सम्झनुहुन्छ, “सानो उमेरमै परिवारको चिन्ता लिन थालेको थियो ।”

त्यसपछि सविन ठूलीआमा ९लालमायाको काकाकी छोरी० सँगै गोवाको एक होटलमा कामका लागि पुग्नुभयो । केही समयपछि हाल कार्यरत नाइटक्लबमा सेफका रूपमा प्रवेश गर्नुभयो र विगत छ महिनादेखि त्यहीँ कार्यरत हुनुहुन्थ्यो । कामको वातावरण, तलब र भविष्यप्रति उहाँ सन्तुष्ट हुनुहुन्थ्यो ।

घटनाको दिन भद्रपुरबाट गरिएको मेसेन्जर ग्रुप कलमा सविनकी हजुरआमा पनि जोडिनुभएको थियो । “म काममा व्यस्त थिएँ”, लालमाया सम्झनुहुन्छ, “छोरालाई काम सकेर कोठामा पुगेर फेरि कल गर्छु, हजुरआमासँग कुरा गर्दै गर भनेँ ।”

एक घण्टापछि कोठामा पुगेपछि लालमायाले छोरालाई फोन गर्नुभयो । तर कल उठेन । “काममै व्यस्त होला भन्ने लाग्यो”, उहाँ भन्नुहुन्छ, “तर सधँै बिहान सबेरै उठेर कल गर्ने छोराको फोन आएन । बरु भारतको सिलिगुडीबाट छोरा काम गर्ने ठाउँमा भएको आगलागीको खबर आफन्तले सुनाए । त्यो क्षण त खुट्टामुनिको जमिनै भासिएजस्तो भयो ।” सविन काम गरिरहेको नाइटक्लबमा भएको आगलागीले केही मिनेटमै भयावहरूप लिएको थियो । उद्धार प्रयास भए पनि भित्र फसेकाहरू निसास्सिन पुगे र तीमध्ये सविन एक हुनुहुन्थ्यो ।

“उक्त ठाउँमा काम गर्दा मेरो छोरा निकै खुसी थियो”, लालमायाले आँखा भरिँदै भन्नुभयो, “तलब पनि राम्रै थियो, नियमित खर्च पठाइरहेकै थियो ।” सविनका बुबा टीकाराम विगत १८ वर्षदेखि वैदेशिक रोजगारीमा साउदी अरब, युएई हुँदै दुई वर्षदेखि मलेसियामा कार्यरत थिए । आमा लालमाया पनि विगत चार वर्षदेखि कुवेतमा काम गर्दै आउनुभएको थियो । दुवैजना छोराको शव घर आइपुगेकै दिन बिहीबार मात्रै नेपाल फर्किनुभयो ।

“घरको आर्थिक अवस्था कमजोर थियो”, लालमाया भन्नुहुन्छ, “त्यसैले श्रीमान् विदेशमै रहनुभयो । म पनि घरको अवस्था केही उकास्न सकिन्छ कि भनेर कुवेत गएँ ।” उहाँका अनुसार सविनले होटल म्यानेजमेन्ट डिप्लोमा गरेपछि आफैँले रोजगारी खोज्दै भन्न थालेका थिए, “अब मलाई अगाडि पढाउनु महँगो पर्छ, म आफैँ कमाएर हजुरहरूलाई दुःख दिन्न ।”

सविनको कामप्रतिको इमानदारी देखेर नाइटक्लबका सञ्चालक पनि सन्तुष्ट थिए । “उसलाई अन्त जान नदिई यहीँ राख्ने सोच बनाएका रहेछन्”, बुबा टीकाराम बताउनुहुन्छ, “हामीसँग कुरा गर्दा पनि कहिल्यै काम गाह्रो भयो, दुःख छ भनेन, बरु साहुँले माया गर्नुहुन्छ भन्थ्यो ।”

सविनको असामयिक निधनले परिवार मात्र होइन, सिङ्गो गाउँ शोकमा डुबेको छ । उनीहरूका नौ वर्षीया छोरी र चार वर्षका छोरा भद्रपुरमै हजुरआमाको रेखदेखमा छन् । दाइ कहिले फर्किन्छन् भनेर सोध्ने उनीहरूका प्रश्नको जवाफ कसैसँग छैन ।

भारतको केन्द्र सरकारले मृतक परिवारलाई दुई लाख भारतीय रूपैयाँ र गोवा राज्य सरकारले पाँच लाख भारतीय रूपैयाँ राहत दिने निर्णय गरेको छ । त्यसका लागि आवश्यक कागजात पठाउने प्रक्रिया भइरहेको सविनका दाजु सन्देश विश्वकर्मा ९मामाको छोरा० ले जानकारी दिनुभयो ।

“गोवा राज्य सरकारले नै शव जहाजमार्फत पश्चिम बङ्गालको बागडोरा विमानस्थल ल्यायो”, उहाँले भन्नुभयो, “त्यहाँबाट एम्बुलेन्समार्फत सिधै घरसम्म ल्याइदियो ।” आमाको स्वास्थ्यलाभका लागि मन्दिरमा पूजा गरेर फर्किएको छोरा अब कहिल्यै फर्किने छैन । सविन विश्वकर्माको कथा केवल एक दुर्घटनाको विवरण मात्र होइन, परदेशी श्रम, परिवारको जिम्मेवारी र अधुरै रहन पुगेका सपनाको कथा हो –जसले धेरै नेपाली युवाको यथार्थ बोलिरहेको छ ।रासस