धनुषा। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि पनि जनताको जीवनमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको बताउनुभएको छ ।
आज जनकपुरधाममा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभामा उहाँले जेनजीले पुरानो पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर पनि दिएको उल्लेख गर्नुभयो ।
जनेजी आन्दोलनपछि समीक्षा गर्दै नयाँ ढङ्गले रुपान्तरणका साथ मुलुकको विकासमा लाग्न पार्टीहरुबीच बृहत एकता गरिएको उहाँको भनाइ छ ।
प्रचण्डले सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने धारणा राख्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले हजाराँैंको सङ्ख्यामा युवाहरु आफ्नो पार्टी प्रवेश गरेको दाबी गर्नुभयो । उहाँले पार्टी एकता भएपछि सबैतिर सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो ।
नेकपाले पार्टी एकताको सन्देश दिन विभिन्न प्रदेशमा सन्देशसभा गर्दै आएको छ । पार्टीले कर्णाली र काठमाडौँमा पनि एकता सन्देशसभाको आयोजना गर्ने जनाएको छ । रासस










