१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा



अ+ अ-

बागलुङ। भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको हुँदा स्थानीयले मोटरबाटोको छेउकुना केही पक्की त केही सामान्य खालका घर बनाएका थिए ।

खोलाको छोटो दूरीमै थिए, विद्यालय, स्वास्थ्य संस्था र विद्युत्गृहहरू । विकासले विस्तारै जोडिदै गरेको विकट क्षेत्रका नागरिकमा खुसी पलाउँदै थियो । विसं २०७७ भदौ १७ गते राति भूजीखोलामा भीषण बाढी आयो । उक्त बाढीले भूजीखोलावासीको सर्वस्व लुट्यो । दर्जनौँ नागरिकको ज्यान लियो, सयौँलाई परिवार र घरबारविहीन बनायो ।

आफन्त र भएभरको सम्पत्ति गुमाएका पीडितले अझै पनि राज्यबाट सहयोग पाउन सकेका छैनन् । सैतीस जनाको ज्यान जानेगरी आएको बाढीले पुर्याएको क्षति बेहिसाब छन् । त्योभन्दा बढी बेहिसाब छन्, बाढीपीडितको दुःख । बाढीमा परेका १५ जना अझै बेपत्ता छन् । बाढी गएपश्चत सरकारले पीडितको पुनःस्थापनलाई प्राथमिकता दिने भने पनि अहिलेसम्म ध्यान नपुग्न नसकेको उनीहरूको गुनासो छ । घर निर्माण गरेपछि राहत उपलब्ध गराउने भनिए पनि अहिलेसम्म धेरैले भुक्तानी पाएका छैनन् ।

बाढीले ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का एक सय ३१ घर बगाएको थियो । पीडितले ऋणधन गरेर अहिले घर बनाइसके । तर राहत अझै पाएका छैनन् । ढोरपाटन–९ का बाढीपीडित लालबहादुर विकले घर बनाउन सरकारले रकम पठाउने आश्वासन दिए पनि अहिलेसम्म कत्ति पनि सहयोग नपाएको गुनासो गर्नुभयो । बाढीले उहाँको जेठो छोरा र भएभरको घरसम्पत्ति बगाएको थियो । राहत आउँछ भन्दाभन्दै पाँच वर्ष बितिसकेको भन्दै अब पाउन आशासमेत मरिसकेको उहाँ बताउनुहुन्छ ।

विकले भन्नुभयो, “बाढीले भएभरको सम्पत्ति बगायो, छोरो बगायो, कति समय त पालमुनि बस्यौँ, सधैँभरि पालमुनि बसेर जीवन चल्दोरैनछ, सरकारले पनि राहत दिन्छ घर बनाउ भनेपछि गाउँमा ऋण काढेर घर बनायौँ, तर अहिले न सरकारले पैसा दियो, न साहुको ऋण तिर्न सकियो, हामीहरू धेरै पीडामा पर्यौँ, राज्यले राहत देला भनेका थियौँ आहत दियो ।”

अर्का पीडित नारायण पुनले सरकारबाट पाउने भनिएको रु चार लाखमध्ये अहिलेसम्म कत्ति पनि रकम पाउन नसकेको सुनाउनुभयो । बाढीमा आमा र घर बगाएको भन्दै अहिले घर निर्माण गरिसकेको बताउनुभयो । केही आफ्नो कमाइ र केही रकम ऋण गरेर घर बनाएको उहाँको भनाइ छ । नेताहरूले आफ्ना वरपरका र नजिकका आफन्तलाई मात्र राहत दिलाएको पुन बताउनुहुन्छ ।

“हामी राम्रोसँग कुरा राख्न पनि नसक्ने सिधा भयौँ, टाढाबाठाले त पाउनुपर्ने राहत पाइसके, राहत पाएपछि ऋण तिर्नेगरी घर बनायौँ तर अहिलेसम्म पाउन सकेनौँ”, उहाँले भन्नुभयो ।

सोही ठाउँका बाढीपीडित कुलबहादुर विकले घर बनाएको ऋणले अहिले समस्यामा परेको बताउनुभयो । बाढीले घरजग्गासहित २२ वर्षका जेठो छोरा, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनी बगाएको सुनाउँदै अहिले ऋणको भारीले थिचिरहेको विकले सुनाउनुभयो । आफूले जम्मा रु दुई लाख ५० हजार पाएको भन्दै घर बनाउँदा रु पाँच लाख खर्च भएको उहाँको भनाइ छ ।

“बाढीले परिवार नै बगायो, सम्पत्ति बगायो, त्यसमाथि सरकारले पैसा दिन्छु घर बनाउ भनेर भन्यो, ऋण खोजेर घर बनाएँ, न सरकारले पैसा दियो, न कतैबाट सहयोग आयो, अहिले साहुले पैसा माग्छन्, आफूलाई बिहान के खाउँ, बेलुका के खाउँ भन्ने पिर छ, अहिले ऋणले डुबायो, के गरेर तिर्ने ?, गाउँका अरु धेरै बाढी पीडितहरूको अवस्था मेरोजस्तै छ”, उहाँले भन्नुभयो ।

बाढीले ११ वटा लघुजलविद्युत आयोजना, एउटा स्वास्थ्य एकाइ, ११ वटा झोलुङ्गे पुल, १० काठे पुल, पाँच ढलान पुल, दुई विद्यालय र २० किलोमिटर सडक बगाएको थियो । बाढीले क्षति पुर्याएका जलविद्युत, विद्यालयको पुनःनिर्माण भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताउनुभयो । सङ्घीय सरकारले १८ जना बाढीपीडितलाई घर बनाउन सबै किस्ता उपलब्ध गराए पनि अझै धेरैले एक किस्ताबाहेक अरु रकम नपाएको उहाँको भनाइ छ ।

उपप्रमुख कायतले भन्नुभयो, “पीडितहरूले प्राविधिक स्टिमेटअनुसार घर बनाउनुपर्ने हो, विभिन्न कारण उनीहरूले सकेनन्, तर घरचाहिँ सबैको बनेको छ, सरकारले दिने रकम एकतिहाइले पनि पाउन सकेका छैनन्, यसका लागि हामीहरूले पहल गरिरहेका छौँ, बाढीले बगाएका विद्यालय, स्वास्थ्य संस्था, पुल र सडक पुनःनिर्माण भएर सञ्चालनमा आइसके ।” रासस