१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा ७ बालिकासहित ८ जनामाथि बलात्कारको आरोपमा एक नेपालीलाई २५ वर्ष जेल सजाय



अ+ अ-

काठमाडौं । बेलायतमा ७ जना बालिका र एक महिलालाई बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ ।

पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय सुनाएको हो । त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला अदालतले गरेको छ ।

ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा अपराधमा अदालतले दोषी ठहर गरेको छ ।

त्यसक्रममा उनले १३ वर्ष मुनिका बालिकामाथि ५ पटक र १३ वर्षमाथिका बालिकामाथि २ पटक बलात्कार गरेको जनाइएको छ । उनले ८ वर्ष उमेरकी नाबालिकालाई समेत बलात्कार गरेको ठहर अदालतले गरेको छ ।

ढकालको बलात्कार र यौन दुराचारमा परेका अधिकांश पीडित पिटरबरो क्षेत्रकै छन् भने एक जनालाई उनले लन्डन पुगेर दुराचार गरेका थिए ।

स्थानीय समुदायमा एक जना विश्वासिलो सदस्य र एक धार्मिक व्यक्तिको रुपमा समेत बनाएको सहज पहुँचलाई दुरुपयोग गर्दै उनले यौन दुराचार गरेको ठहर अदालतले गरेको छ ।

पीडितमध्ये धेरै ढकालको निकट पारिवारिक सम्बन्ध रहेका परिवारका सदस्य छन् । उनले एकै परिवारका एक भन्दा बढी सदस्यमाथि पनि यौन दुराचार गरेको खुलेको छ ।

ढकालको पुख्र्यौली घर धादिङ र अहिले काठमाडौंमा पनि छ । पिटरबरोमा रेष्टुरेन्ट व्यवसायमा समेत संलग्न रहंदै आएका उनलाई स्थानीय नेपालीले पण्डितका रुपमा समेत पुज्ने गरेका थिए ।