काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आज कर्णाली याक्स र काठमाण्डु गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् ।
र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले जारी प्रतियोगितामा चार खेलमा एउटामा मात्रै जीत निकालेको छ । दुई अङ्क मात्रै जोडेको कर्णाली छैटौँ स्थानमा छ । प्लेअफमा यात्राको बाटोमा रहिरहन उसलाई आजको जीत आवश्यक छ ।
करण केसीको नेतृत्वमा रहेको काठमाण्डुले पाँच खेलबाट तीनमा जीत निकाल्दै तालिकाको तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा जोडिन काठमाण्डुका लागि पनि यो खेल महत्त्वपूर्ण हुनेछ ।
प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्स पाँच वटै खेलमा जीतका साथ प्लेअफमा सुरक्षित भइसकेको छ ।
नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।










