काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत १५ औं खेलमा काठमाण्डु गोर्खाजले चितवन राइनोजलाई पराजित गरेको छ ।
भर्खरै सम्पन्न खेलमा काठमाण्डुले चितवनलाई ५३ रनले हराएको हो । १४३ रनको लक्ष्य पछ्याएको चितवन १७.२ ओभरमा ८९ रनमै अलआउट भयो ।
उसका लागि देव खनाल र रवि बोपाराले २१–२१ रन जोड्दा शोहेल तनविरले १८ रन बनाए । अन्य ब्याट्सम्यान फ्लप सावित भए ।
चितवनलाई सस्तैमा समेट्न काठमाण्डुका राशिद खानले तीन तथा करण केसी, मिलिन्द कुमार शाहब आलमले दुई–दुई विकेट लिँदा सन्तोष यादवले एक सफलता हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाण्डु १९.४ ओभरमा १४२ रनमा अलआउट भयो ।
उसका लागि जोन सिम्पसनले सर्वाधिक ६० रनको योगदान दिए । २९ बल खेलेका उनले ५ छक्का र ३ चौका प्रहार गरे । यस्तै, मिलिन्द कुमारले ३८, बेन चार्लस्वर्थले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ चितवनका शोहेल तनविर एक्लैले चार विकेट लिए भने रन्जित कुमार र कमल ऐरीले दुई–दुई तथा रवि बोपाराले एक विकेट लिए ।
जारी प्रतियोगितामा काठमाण्डुको यो तेस्रो जित हो । पाँच खेल खेलेको काठमाण्डुले तीन जित तथा दुई हार ब्यहोरेको छ । यता, चितवनले भने चार खेलमा दुई जित तथा दुई हार ब्यहोरेको छ ।










