काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई काम कारबाही गर्न नसकेको भन्दै नेपाली कांग्रेसले राजीनामा माग गरेको छ । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्री ओलीको राजिनामा माग गरेका हुन् ।
हाल प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् ।
यसै प्रसंगलाई जोड्दै सांसद चौधरीले भने, ‘प्रधानमन्त्रीज्यू शरीरको अंग भएर पनि काम नलाग्ने भएपछि त फेर्न पर्दो रहेछ नि । त्यसैले आफ्नो आसेपासे भए पनि देश र जनताको काम नलाग्ने मान्छे, भ्रष्टाचारहरुलाई किन कारबाही अहिलेसम्म भइराखेको छैन ? नैतिकताको आधारमा राजीनामा दिन जोडदार माग गर्न चाहन्छु ।’
चीनबाट फैलिएको कोरोना भाइरस भन्दा भ्रष्टाचार ठूलो समस्याका रुपमा रहेको भन्दै उनले भ्रष्टाचार देशको मुटु, फोक्सो, कलेजो र नशा नशामा पसेको र आम जनताको रगत र पसिना चुसिरहेको उल्लेख गरे ।