३० श्रावण २०८३, शनिबार
,
Latest
ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुखुरापालनबाट मासिक एक लाख आम्दानी



अ+ अ-

तनहुँ । व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले कुखुरापालन गरेर मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ । सत्र वर्षसम्म दुबईमा रोजगारी गर्नुभएका बस्नेत स्वदेश फर्किएर व्यावसायिक रूपमा कुखुरापालनमा लाग्नुभएको हो । विदेशमा रहँदा कोरोनाको समयमा बुबाको निधन भएको नौ महिनापछि घर फर्किनुभएका बस्नेत त्यसपछि विदेश नगई स्वदेशमै केही गरौँ भन्दै पाँच वर्षदेखि कुखुरापालन गर्दै आउनुभएको हो ।

विदेशमा गरेको आम्दानीभन्दा स्वदेशमा बसेर दोब्बर कमाई गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न बस्नेत सफल हुनुभएको छ । उहाँले सञ्चालन गर्दै आएको ‘बस्नेत ब्रोइलर पोल्ट्री एण्ड एग फार्म’मा हाल दुई हजार कुखुरा छन् । सुरुआतमा रु ३० लाख लगानीमा छ रोपनी क्षेत्रफलमा दुई आधुनिक ट्रष्ट निर्माण गरी व्यावसायिक रूपमा कुखुरापालन व्यवसाय सुरु गर्नुभएका बस्नेतले मनग्य आम्दानी गर्दै आउनुभएको छ । दैनिक एक हजार आठ सय अण्डा उत्पादन हुने यो फार्मबाट महिनामा रु पाँच लाख बढीको कारोबार हुने गरेको छ ।

दाना, औषधि तथा श्रम खर्च कटाएर रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “दुबईमा महिनामा रु ६० हजार आउँथ्यो, अहिले गाउँमै परिवारका साथमा बसेर विदेशको भन्दा दोब्बर फाइदा भइरहेको छ ।”

कुखुरा व्यवसायबाट उत्पादन हुने ठूला दाना ९क्रेड० स्थानीय बजारमा प्रतिथान रु पाँच सयमा बिक्री हुँदै आएको छ । जोखिमयुक्त मानिने कुखुरापालनमा किसानलाई टिकाइराख्न सरकारले दाना उत्पादनमा अनुदान दिनुपर्ने बस्नेत बताउनुहुन्छ ।

“पूर्वाधारमा मात्र अनुदान दिएर हुँदैन । दाना खरिद गर्न सहयोग भयो भने किसान यो व्यवसायमा टिकाउँछन्, राज्यको लगानी पनि सुरक्षित हुन्छ”, उहाँको तर्क छ । बस्नेतका अनुसार कुखुरापालन सुरु गरेपछि वर्षौँदेखि बाँझो रहेको जमिनको सदुपयोगमात्र नभई खेतीपातीमै पनि उल्लेख्य सुधार आएको छ ।

श्रीमती मधुमायाको निरन्तर साथमा फार्म चलाउनुभएका बस्नेत भन्नुहुन्छ, “कुखुराको मल प्रयोग गरेदेखि तोरी राम्रो फलेको छ, तेल किन्नुपरेको छैन, तरकारी पनि बजारबाट ल्याउनुपरेको छैन ।”

व्यास नगरपालिकाले इनार निर्माणका लागि रु २५ हजार र कुखुरा खरिदका लागि रु ५० हजार सहयोग गरेको व्यास–१ का वडासदस्य मणिजङ्ग बस्नेतले बताउनुभयो । चितवनबाट चल्ला ल्याएर सुरु गरिएको यो व्यवसाय अहिले गाउँमै रोजगारी, आम्दानी र आत्मनिर्भरता अभिवृद्धिको उदाहरण बनेको छ । दुबईबाट फर्किएर ‘सामान्य किसान’का रूपमा थालेको यात्रा आज बस्नेतलाई सफल व्यावसायिक किसानका रूपमा उभ्याइरहेको स्थानीय सूर्य कार्की क्षत्रीले बताउनुभयो । रासस