३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

मेटिँदै सेन वंशको इतिहासः झाडीमा परिणत भयो मकवानपुरगढी

मेटिँदै सेन वंशको इतिहासः झाडीमा परिणत भयो मकवानपुरगढी
अ+ अ-

मकवानपुर । मकवानपुरको चिनारीको रूपमा रहेको मकवानपुरगढी दरबार केवल पत्थरको संरचनामात्र होइन, नेपालको गौरवशाली इतिहासको एउटा अमूल्य दस्तावेज हो ।

लगभग तीन सय वर्षसम्म सेन वंशका राजाहरूले यस दरबारलाई आफ्नो राजधानीको रूपमा प्रयोग गरे । यो दरबार नेपाली इतिहासमा राजनीतिक, सांस्कृतिक र सैनिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ। तर आज जब कोही पर्यटक त्यहाँ पुग्छन्, उनीहरूले इतिहासभन्दा पहिले झाडी र घाँस देख्छन् ।

१३ औँ शताब्दीको शुरुतिर मुकुन्द सेनका छोरा लोहाङसेनबाट शुरु भएको मकवानपुरको शासनकाल अन्तिम राजा दिगबन्धन सेनसम्म आइपुग्दा मकवानपुरगढी करिव तीन शताब्दीसम्म शक्तिशाली गढीका रूपमा रह्यो । यो गढी नेपालको सबैभन्दा ठूलो गढीका रूपमा चिनिन्छ । जसले सेन वंशीय इतिहास बोकेको छ । तर अहिलेको अवस्था देख्दा लाग्छ—इतिहास र सम्पदा जोगाउनेतिर हाम्रो चासो झन् कमजोर बन्दै गएको छ ।

मकवानपुरगढी गाउँपालिकामा पर्ने यो स्थानमा अहिले पनि दिनहुँ सयौं आन्तरिक तथा वाह्य पर्यटकहरू पुग्ने गर्छन्। तर गढीभित्र प्रवेश गरेपछि आफूहरुले इतिहासको कथा भन्दा पहिले अग्ला घाँस र झाडीहरू देखेको काठमाडौंबाट आउनुभएका पर्यटक दिलबहादुर देउला गुनासो गर्नुहुन्छ ।

गढीका संरचनाहरू झारपातले ढाकेको र पौराणिक महत्वका ठाउँहरू हेर्नै मुस्किल भएको दोलखा चरीकोटबाट आउनुभएका पर्यटक सोमबहादुर तामाङले बताउनु भयो ।

स्थानीय पुजारी चन्द्रप्रसाद घिमिरेकाअनुसार गढीमा वर्षमा जम्मा तीनपटक मात्र सरसफाई हुने गर्छ । त्यो पनि बजेट र जनशक्तिको अभावले सिमित भएको देखिन्छ ।
उहाँले भन्नुभयो, ‘यहाँ सफा गर्न प्रयास त गर्छौं तर न जनशक्ति पुग्छ, न बजेट। स्थानीयहरूकै चासो पनि खासै छैन। यस्तो अभाव र उपेक्षाको कारण आज यो ऐतिहासिक गढी झाडीको जंगलमा परिणत हुन थालेको छ ।’

स्थलगत अवलोकनको क्रममा मकवानपुरगढीको अवस्था देख्दा लाग्छ—इतिहासले हामीलाई सुम्पेको यस्तो अमूल्य सम्पदा संरक्षणको चरम अभावमा छ। जताततै घाँस र झारहरूले ढाकिएका संरचना, कुराले भरिएका बाटाहरू, अनि हेर्दा हेर्दै ओझेलमा पर्दै गएको इतिहास । केही स्थान बाहेक अधिकांश भागहरूमा झारहरूले ढाकिएका छन्। यस्तो ठाउँमा पर्यटक आकर्षण त परै जाओस्, यहाँको महत्व बुझ्न पनि कठिन हुन्छ ।

त्यसो त मकवानपुरगढी केवल पर्यटकीय स्थल मात्र होइन, यो एक राष्ट्रिय गौरव हो। यहाँका ढुंगाहरूले इतिहास बोकेका छन् । हरेक पर्खालले एउटा कथा सुनाउँछ । तर यदि यस्तो गढी संरक्षणको अभावमै हराउँदै जाने हो भने, भोलिको पुस्ताले यसको केवल नाम मात्र सुन्ने अवस्था नआउला भन्न सकिँदैन ।

यो अवस्था सुधार्न स्थानीय तह, विशेष गरी मकवानपुरगढी गाउँपालिका, प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालय, र पुरातत्व विभाग सबैको जिम्मेवारी बराबरको छ। बजेटको बहानामा, जनशक्ति नपुग्ने भन्दै, वा स्थानीयको चासो नभएको भन्दै गढीलाई यसरी छाड्न मिल्दैन। पर्यटकको गुनासो केवल घाँसको बारेमा होइन, त्यो हाम्रो व्यवस्थापकीय असक्षमताप्रति पनि संकेत हो। अब समय आएको छ—इतिहास बचाउने, गढी संरक्षण गर्ने र यसलाई साँच्चिकै पर्यटकीय तथा शैक्षिक केन्द्र बनाउने। मकवानपुरगढी केवल एक ठाउँ होइन, यो हाम्रो पहिचान हो ।