२२ असार २०८३, सोमबार
,
Latest
आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जेनजी’ प्रदर्शनका क्रममा सुदूरपश्चिममा २३४ भौतिक संरचनामा क्षति



अ+ अ-

महेन्द्रनगर। ‘जेनजी’ प्रदर्शनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टी कार्यालय गरी २३४ भौतिक संरचनामा क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदर्शनका क्रममा कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ । सरकारी कार्यालयतर्फ कैलालीमा दुई, कञ्चनपुरमा एक, बझाङमा एक र दार्चुलामा एक गरी पाँच वटा सरकारी संरचना पूर्ण रूपले क्षतिग्रस्त भएका छन् । प्रदेशभर १५१ वटा सरकारी संरचनामा आशिंक क्षति पुगेको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो ।

आशिंक क्षति हुने सरकारी भवनमा पनि सबैभन्दा बढी कैलालीमा १०३, कञ्चनपुरमा २४, डडेल्धुरामा नौ, डोटीमा आठ, अछाममा चार र दार्चुलामा तीन वटा छन् । यसैगरी व्यापारिक र निजीतर्फ ३८ घरमा क्षति पुगेकामा कञ्चनपुरमा सबैभन्दा बढी २३ र कैलालीमा १५ वटा रहेका छन् ।

प्रदेशमा ५७३ दुई पाङ्ग्रे र १३५ चार पाङग्रे गरी ७०८ सरकारी सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । निजीतर्फ तीन वटा सवारीसाधनमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले क्षतिबारे ठाडो निवदेन आए पनि जाहेरी नआएको बताउनुभयो । उहाँले जोहरी आए सङ्कलन गरिने बताउनुभयो । यस्तै, कञ्चनपुर कारागारबाट भागेका ४७८ जनामध्ये ९८ जना फरार र खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले सम्पत्ति क्षतिका हकमा कैलालीमा पनि जाहेरी नपरेको बताउनुभयो । उहाँले प्रदर्शनको मौका पारेर भागेका कैदीहरूमध्ये धेरै जना फर्केको र नफर्केकाहरूको खोजी भइरहेको बताउनुभयो ।

“कारागारबाट भागेकामध्ये ४०६ जना फर्केर आएका छन् । अझै २०० भन्दा बढी कैदी फर्केका छैनन् । उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ”, प्रवक्ता सिंहले भन्नुभयो, “हामीले प्रदर्शनका क्रममा काठमाडौँमा लुटिएका तीन थान हतियार कैलालीबाट बरामद गरी काठमाडौँ पठाएको छ ।”

आन्दोलनका क्रममा सुदूरपश्चिममा प्रदेशसभा भवनदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वगृहमन्त्री रमेश लेखकलगायत प्रदेशसभा सदस्य, पालिकाका प्रमुख तथा उपप्रमुखका निवास तथा व्यापारिक संरचनामा आगजनी र तोडफोड गरिएको थियो । रासस