१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी विश्वकप लिग टु : नेपाल र अमेरिका आज भिड्दै



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टू मा नेपालले आज अमेरिकाको सामना गर्दै छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज दिउँसो सवा ११ बजेदेखि खेल सुरु हुने छ ।

यो खेलबाट नेपाल चार महिनापछि एक दिवसीय क्रिकेटमा फर्किन लागेको हो । तीन वर्षको चक्रमा आयोजना हुने लिग टूमा नेपाल निकै कमजोर अवस्थामा छ । तर आईसीसी टी–२० विश्वकप छनोटमा एसोसिएटतर्फ एसिया क्षेत्रकै उत्कृष्ट टोली नेपालसामु लिग–टू मा पुनरागमनको अवसर छ ।

नेपाल आईसीसी टी–२० विश्वकप एसिया र ईस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्यो। यो नेपालले अहिलेसम्म जितेको आईसीसीको सबैभन्दा ठूलो ट्रफी थियो । त्यसपछि यूएई फर्किएको नेपाली टोलीसँग अब अर्को नयाँ चुनौती छ, त्यो हो अमेरिका र यूएईसँगको आईसीसी विश्वकप क्रिकेट लिग टूको प्रतियोगिता ।

सन् २०२४ मा सुरू भएर २०२७ सम्म सञ्चालन हुने विश्वकप लिग टूमा अहिले आधाभन्दा धेरै खेल सकिएका छन् । नेपालले भने खेल्नुपर्ने ३६ मध्ये १६ खेल खेलेको छ । १६ मध्ये पाँच खेलमात्रै जितेको नेपाल अहिले तालिकाको सातौं स्थानमा संघर्ष गरिरहेको छ । यता नेपालले अब खेल्नुपर्ने अमेरिकाले भने २० खेलबाट २८ अंक जोडिसकेको छ ।

नेपाल र अमेरिकाबीच अहिलेसम्म नौ खेल भएका छन् । त्यसमध्ये नेपाल र अमेरिका समान चार–चार खेलमा विजयी भएका छन् । तर पछिल्ला पाँच खेलमा नेपालले एक मात्र जित हासिल गर्न सकेको छ । सन् २०२३ को जुनमा नेपालले अमेरिकालाई पछिल्लो पटक हराएको थियो ।

त्यसपछि अमेरिकाले नेपालविरूद्ध दुई जित निकालिसकेको छ । यी दुई टिमबीच यूएईमा पहिलो पटक खेल हुन लागेको हो । यसअघि नेपालले यूएईको सारजाहमा वेस्ट इन्डिजलाई नै हराएको थियो । यो सिरिज सुरू हुनुभन्दा एक हप्ता अघि नै नेपाली टिम यूएई पुगेर त्यहाँ अभ्यास गरिरहेको छ । एक महिनाभन्दा लामो यूएई र ओमान बसाईबाट नेपाली टिमले त्यहाँको वातावरणमा राम्रो तयारी गरेको मात्रै छैन आफूलाई प्रमाणितसमेत गरेको छ ।

अमेरिकी क्रिकेट टिम राम्रो रहे पनि त्यहाँको क्रिकेट संघलाई आईसीसीले निलम्बन गरेको छ । आईसीसीले आफ्नो सीधा निर्देशनमा त्यहाँको क्रिकेट बोर्ड र राष्ट्रिय टोली चलाइरहेको अवस्था भए पनि टिममा भने व्यक्तिगत उत्कृष्ट कौशल भएका खेलाडी छन् ।

यसअघिको टोलीमा रहेका दुई खेलाडीलाई परिवर्तन गरेर अमेरिकाले लिग टूका लागि आफ्नो टोली घोषणा गरेको छ । अमेरिकी टोलीमा एन्ड्रियस गौस, कप्तान मोनांक पटेल, सौरभ नेत्राभल्करजस्ता उत्कृष्ट खेलाडी छन् । मोनांकले पछिल्ला १० खेलमा ३ सय ६३ रन बनाएका छन्, सइतेजा मुक्कमलले पनि १० खेलमा तीन सय ५६ रन बनाएका छन् ।

बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका मिलिन्द कुमारले पछिल्ला ८ खेलमा १९ विकेट लिएर अमेरिकी टोलीलाई उच्च गतिमा पुर्याएका छन् । आइतबारको खेलमा पनि यी खेलाडी केन्द्रमा रहनेछन्। यता विश्वकप छनोटमा ब्याङमिा आशातित प्रदर्शन गर्न नसकेको भए पनि बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गरेको नेपाली टिममा अहिले दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सन्दिप लामिछाने उत्कृष्ट फर्ममा छन् ।

रोहित पौडेलले केही खेलमा राम्रो गरे पनि उनी कन्सिस्टेन्ट देखिएका छन् । कुशल मल्ल भने फर्ममा फर्किनु आवश्यक छ । गुल्सन झाले हरेक इनिङमा अत्यावश्यक प्रदर्शन गरेर जितमा प्रत्यक्ष प्रभाव पारेका छन् ।