काठमाडौं । ‘निधारमा लर्काएर सप्तरंगी टीका, हिँडिरहू सधैँ तिमी शिखरको बाटो ।’
हरेक तिहारमा प्रायः सबैले गुनगुनाउने गीत हो यो । जानेर नजानेर गुनगुनाउने यो गीत सबैको मुखमा झुण्डिएकै हुन्छ । यसका शब्द, संगीत र स्वरले यसरी मोहित बनाउँछकी गीत गुनगुनाउने र सुन्ने दुवै नोस्टाल्जिक हुन्छन् ।
भाईटिकाको भावना गीतमा यसरी उतारिएको छ कि गति सुन्दा प्रत्येकलाई घरको आँगनमै पुगेको अनुभूति दिलाउछ । गीतले पर्वको खुशी त बोकेकै छ, त्यति मात्र नभएर परिवार, माया र एकताको सन्देश पनि राम्रोसँग छरेको छ । स्वरमा रहेको मिठास र शब्दले बोकेको आत्मीयता तथा त्यसमा भरिएको जिवन्त संगीतले गीतलाई कर्णप्रिय बनाएको छ ।
सबै उमेरका श्रोताका भावना र वास्तविकता झल्किन्छन् गीतमा । सात रंगका टीका सात भावनाका रंग हुन्— प्रेम, सम्मान, भाइचारा, आशीर्वाद, उमंग, माया र सम्झना । गीतमा यो सबै जिवन्त रुपमा प्रस्तुत भएको छ ।
फिल्म ‘विजयपराजय’का लागि कवि तथा गीतकार दिनेश अधिकारीको शव्द शम्भूजीत बासकोटाको संगीत र हेमलताको स्वर रहेको छ भने गीतमा भुवन केसी, कृष्ण मल्ल, सरोज खनाल रुपा राना लगायतको अभिनय रहेको छ ।
बिना कुनै तडकभडक, विशुद्ध पारिवारिक महत्व झल्कने यो गीतको चर्चा हरेक वर्ष तिहारको आगमनसँगै चुलिने गर्छ ।
गीतबारे गीतकार अधिकारीले न्यूजपोलारसँग भन्नुभयो— दाजुबहिनी तथा दिदीभाईको प्रेमलाई प्रकट गर्न भाईटिको सांस्कृतिक पक्षलाई समेटेर गीत लेखेको हुँ । जस्तो कि सप्तरंगी टिका लगाउने चलन, कुनै बिघ्न बाधा नपरोस भनेर ओखर फुटाउने, घामको किरण ध्वनी भन्दा पनि चाडो सबै काम गर, उन्नती प्रगती गर भन्ने आशिष दिएको हो ।
यसैगरी परदेश गएकाहरु फर्केर आउने दिन पनि हो तिहार । भैलेनी नाच्ने कुरा यी सबै समेटर मैले शब्दमा लेखेँ र शम्भूजीत बासकोटाले त्यो सास्कृतिक पक्षलाई जिबन्त बनाउने गरी संगीत दिनुभयो ।
सम्भवत हेमलताले नेपाली चलचित्रमा गाएको यो पहिलो गीत हुनुपर्छ । २०४६ साल भदौ १५ गते यो गीत मैले लेखेको थिएँ, २०४६ कार्तिकमा मुम्बइमा रेकर्ड भएको हो ।
फिल्म त्यस्तै ४६ को अन्तिम वा ४७ को सुरुतिर रिलिज भयो । सांस्कृतिक पक्षलाई राम्रैसँग उजागर गरिएछ भन्ने लाग्छ । दशैँ तिहारका गीतहरु धेरै आए तर भाईटिका केन्द्रित गीत थिए भन्ने पनि लाग्दैन ।
सो गीतबारे संगीतकार शम्भूजीत बासकोटाले भन्नुभयो— यो गीतमा कथा अनुसारको शब्द छ अनि संगीतले भावना भरेको छ । त्यस्तै गायन पक्षले निखारेको छ । यो गीत भारतको मुम्बईस्थित मुम्बई ल्यावमा रेकर्ड भएको उहाँले स्मरण गर्नुभयो ।
यसको एरेञ्जमेन्ट बब्लु चक्रबर्तीले गर्नुभएको र एरेञ्जमेन्टमा पनि नेपालीपन झल्किएको बास्कोटा बताउनुहुन्छ । उहाँले यो गीत रेकर्डिङका बेला भारतका सुप्रशिद्ध संगीतकार रविन्द्र जैन पनि उपस्थित हुनुभएको पनि स्मरण गर्नुभयो ।
दशैँ र तिहारमा धेरै गीत बने पनि भाइटीका केन्द्रित गीत भने दुर्लभ छन् । त्यसैले ‘निधारमा लर्काएर सप्तरंगी टीका’ आज पनि हरेक नेपाली घर–घरमा तिहारको सन्देश बनिरहन्छ ।
तिहारको रौनक सुरु भएसँगै यो गीतले हामीलाई सम्झाउँछ— पर्व केवल उत्सवमा मात्र सीमित हुँदैन । परिवार र मायाको पुनर्मिलनको भावनात्मक पल पनि नेपाली चाडपर्वहरु हुन् भन्न सकिन्छ ।
तिहारको यो सदाबहार गीतले भाइटीकाको भावनामा रङ भर्ने काम गरिरहेको छ । दशकौँ पुरानो यो गीतसँग नेपाली तिहारको इतिहास र भावना पनि जोडिएको छ ।









