नयाँ दिल्ली। बलिउडका वरिष्ठ हास्य कलाकार तथा अभिनेता असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ।
उनी पछिल्ला पाँच दिनदेखि अस्पतालमा उपचाररत थिए। १९४१ जनवरी १ मा जयपुरमा जन्मिएका असरानीको असली नाम गोवर्धन असरानी हो। उनले सन् १९६० दशकमा अभिनय यात्रा सुरु गर्दै करिब ४०० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए।
‘शोले’मा “अंग्रेजहरूको जमानाको जेलर” को भूमिकाबाट प्रसिद्ध भएका उनले ‘खट्टा मीठा’, ‘चुपके चुपके’, ‘बावर्ची’ लगायतका फिल्ममार्फत बलिउडमा आफ्नै हास्य पहिचान स्थापित गरेका थिए।
असरानीले अभिनेत्री मन्जु बंसल इरानीसँग विवाह गरेका थिए र उनीहरू धेरै फिल्ममा सँगै देखिएका थिए। सन् २००४ मा भारतीय कांग्रेस पार्टीमा आवद्ध भई राजनीतिमा पनि सक्रिय भएका थिए।
लामो संघर्षपछि ‘गुड्डी’ फिल्मबाट सफलताको यात्रा सुरु गरेका असरानी भारतीय सिनेमामा अमर हास्य पात्रका रूपमा सधैं सम्झिइरहने छन्।










