काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जेन–जी आन्दोलन’ का क्रममा आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको निगरानीमा रहनु परेको खुलासा गरेका छन् । उनले सो अवधिमा आफ्नो मोबाइलसमेत सिज गरिएको जानकारी दिएका छन् ।
आइतबार सम्पादकहरूसँगको संवादमा बोल्दै ओलीले भने, “मैले राजीनामा दिएपछि सेनाको सुरक्षामा थिएँ । मेरो मोबाइल फोनसमेत सिज गरिएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले शपथग्रहण गरेपछि मात्रै मैले मोबाइल फिर्ता पाएँ ।”
फरक प्रसंगमा ओलीले एमालेभित्र नेतृत्वको अभाव नरहेको बताउँदै पार्टीभित्र थुप्रै आकांक्षीहरू रहेको उल्लेख गरे। उनले आफ्नो उमेर नेतृत्वको बाधा नभएको जिकिर पनि गरे। “अमेरिकामा ८० वर्षका मान्छे नेतृत्वमा छन्। भारतका प्रधानमन्त्रीदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनफिङसम्मलाई उमेरले छेकेको छैन,” ओलीले भने, “मेरो उमेरले पनि छेक्दैन ।”
त्यसैगरी उनले माओवादी केन्द्रका अध्यक्ष तथा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्ला दिनमा “भयानक झुट” बोलेको आरोप लगाए। ओलीका अनुसार तत्कालीन जटिल परिस्थितिमा उनले संविधान र लोकतान्त्रिक प्रणालीभित्रै रहँदै राष्ट्रपतिसमक्ष आवश्यक सिफारिस गरेका थिए ।
उनले स्पष्ट पार्दै भने, “राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसबिना नयाँ प्रधानमन्त्री बनाउन गाह्रो हुन्छ भनेपछि मैले त्यो कुरा स्वीकार गरेको हुँ। असहज र असाधारण अवस्था नियन्त्रणमा ल्याई शान्तिपूर्ण रूपमा फर्काउनका लागि लोकतान्त्रिक प्रणालीभित्रै समाधान खोज्न राष्ट्रपतिलाई सिफारिस गरेको थिएँ ।”










