काठमाडौं । नेपाली कांग्रेसको बैठकमा फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्नुपर्ने माग उठाइएको छ ।
पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सरकारले तोकेको मितिमा पहाडी जिल्लामा निर्वाचन सम्भव नहुने दाबी गर्दै वैकल्पिक मिति तय गर्न सुझाव दिएका छन् ।
उनले भने, “फागुन २१ मा पहाडी जिल्लामा निर्वाचन हुन सक्दैन। त्यतिबेला मौसम र भौगोलिक कठिनाइका कारण मतदान गर्न समस्या आउँछ ।”
शर्माले वैशाख मसान्तमा निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारे । उनले भने, “वैशाख मसान्तको मितिमा निर्वाचन गर्दा शान्ति–सुरक्षाको वातावरण अनुकूल बनाउन सरकारले पर्याप्त तयारीको समय पाउँछ।”
कांग्रेसको बैठकमा अन्य नेताहरूले पनि निर्वाचन तयारी, उम्मेदवारी छनोट र संगठन सुदृढीकरणबारे आ–आफ्ना धारणा राखेका छन् ।










