९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

र्यापिड टेस्टमा ६ जनाको रिपोर्ट पोजेटिभ देखियो



अ+ अ-

काठमाडौं । कर्णाली प्रदेशबाट धनगढीको प्रयोगशालामा परीक्षणका लागि ल्याइएका दुई जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । यसैगरी, हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्यापिड टेस्टमा पनि चार जनाको पोजेटिभ देखिएको छ । धनगढीस्थित राजधानी सहकर्मी दीपक ओलीका अनुसार, धनगढीस्थित पशुपक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटी–पीसीआर मेसिनमा परीक्षण गर्दा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको हो । संघीय सरकारले मेसिन पठाएपछि हालै धनगढीस्थित पशुपक्षी अन्वेषण प्रयोगशालामा आरटी–पीसीआर मेसिन जडान गरिएको थियो ।

कर्णाली प्रदेशको सुर्खेतबाट ल्याइएका ९९ वटा थ्रोट स्वाबको नमुना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखिएको बताइएको छ । कोरोना पोजेटिभ देखिएका उनीहरू दुवै जना रुकुम पश्चिमका हुन् । दुवै जना भारतबाट आएका हुन् । रिपोर्ट पोजेटिभ देखाएपछि उनीहरूको थ्रोट स्वाब पुनः परीक्षणका लागि काठमाडौं पठाइएको प्रादेशिक अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले बताए । रिपोर्ट पोजेटिभ देखाएपछि होम क्वारेन्टाइनमा रहेका उनीहरूलाईरुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा लगिएको छ ।

यसैगरी, हेटौंडास्थित राजधानी सहकर्मी धुु्रव अधिकारीका अनुसार, हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्यापिड टेस्टमा चार जनाको पोजेटिभ देखिएको छ । हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्यापिड टेस्टमा चार जनाको पोजेटिभ आएको हो । वासुदेव सभागृहमा भएको ४० जनाको टेस्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजेटिभ आएको टेस्टमा संलग्न मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईंले बताए । उनीहरूमध्ये भारत विहार घर भई हेटौंडा–४ घर भएका आफन्तकहाँ आएकी ५५ वर्षीया एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ वर्षीय एक वृद्ध, भारत बैंग्लोरबाट फर्किएका हेटौंडा–५ का २४ वर्षीय युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय युवक रहेका छन् ।

उनीहरूलाई पीसीआर जाँचका लागि स्वाब संकलनका लागि हेटौंडा अस्पताल लगिएको छ । हेटौंडा–१५ मा गरिएको टेस्टमा भने सबैको नेगेटिभ पाइएको छ । पीसीआर टेस्ट गर्न उनीहरूलाई आइसोलेसनमा राखिएको छ । उनीहरू चारै जनाको हेटौंडाको ल्याबमा पीसीआर (स्वाब) टेस्ट गर्ने तयारी गरिएको छ । उनीहरूलाई हेटौंडा–४ कर्रामा रहेको आइसोलेसनमा राखिएको हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

हेटौंडामा विदेशबाट फर्किएकाहरूलाई टोलटोलमा पुगेर र्यापिड टेस्ट गर्न सुरु गरिएको हो । कोरोना भाइरस लागेको छ कि छैन भनेर परीक्षण गर्न र्यापिड टेस्ट गर्न सुरु गरिएको महतले बताए । राजधानी दैनिक