काठमाडौं । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबार मर्मत गर्न त्रिपालले छोपिएको छ ।
सिंहदरबार मर्मत गर्नका लागि कम्पाउन्डिङ जालीले छोपिएको हो । जेनजीको प्रदर्शनका क्रममा गत भदौ २४ सिंहदरबार परिसरमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था, शिक्षा तथा विज्ञान प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास र अर्थ मन्त्रालयमा आगजनीबाट क्षति पुगेको थियो।
प्रदर्शनकारीले नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका संसदीय दलका कार्यालयमा आगजनी र तोडफोड गरेका थिए।जेनजी प्रदर्शनका क्रममा सिंहदरबारभित्र रहेका रक्षा, कानुन तथा संसदीय मामिला, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास, परराष्ट्र, श्रम तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलगायतका मन्त्रालयमा सामान्य क्षति पुगेको छ।
साथै नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय योजना आयोगमा पनि आक्रमण भएको छ ।
तस्बिरः गोपाल दाहाल/रासस











