९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसलाई जितेर धमाधम घर फर्किंदै



अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरू निको भएर धमाधम घर फर्किन थालेका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएका चार जना निको भएर घर फर्किसकेका छन् । पछिल्ला दुई दिनमा घर फर्किनेको संख्या तीन रहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुई, धौलागिरी अस्पतालका एक र सेती प्रादेशिक अस्पताल धनगढीबाट दुई जना निको भएर घर फर्किएका हुन् । तीमध्ये दुई पुरुष र दुई महिला छन् । पछिल्लोपटक सेती प्रादेशिक अस्पतालमा भर्ना भएका ३६ वर्षीय राज विक १६ दिनको अस्पताल बसाइपछि आइतबार डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेको संख्या चार पुगेको हो । हालसम्म पहिलो, दोस्रो, छैटौं र नवौं संक्रमित निको भएर घर फर्किएका हुन् ।

अन्य २७ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवा कोरोना जितेर घर फर्किएका हुन् । २२ चैतमा कोरोना पोजेटिभ देखिएपछि उनी सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए । यसअघि शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट १९ वर्षीया प्रसिद्धि श्रेष्ठ र धौलागिरी अस्पतालबाट ६५ वर्षीया मनकुमारी पौडेल डिस्चार्ज भइसकेका छन् । चीनको वुहान सहरबाट नेपाल फर्किएका ३२ वर्षीय पुरुष सरुवा रोग अस्पतालबाट गत माघ तेस्रो साता पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका थिए ।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १, पाटन अस्पतालमा २, भरतपुर अस्पतालमा २, बागलुङमा १, धनगढीमा र वीरगन्जमा ४–४ र विराटनगरमा १३ जना संक्रमितको उपचार भइरहेको जानकारी प्रवक्ता डा. देवकोटाले दिए । यस्तै, कोरोना भाइरस संक्रमणको आशंकामा देशभर ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा बस्दै आएका छन् । संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेकाहरूको रिपोर्ट नेगेटिभ आएपछि घर फर्किने क्रम सुरु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा बस्नेको संख्या दिन प्रतिदिन घट्दै गएको हो । उनले भने, ‘विभिन्न विधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो । उहाँहरूलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौं ।’

हालसम्म २९ हजार ५ सय ६७ जनाको कोरोना परीक्षण भएको छ । आरटी–पीसीआर विधिबाट ८ हजार ८१ जना र आरडीट प्रविधिबाट २१ हजार ४ सय ८६ जनाको कोरोना परीक्षण गरिएको छ ।हाल काठमाडौं उपत्यकामा ५ र बाहिर ९८ गरी १ सय ३ जना आइसोलेसनमा उपचाररत छन् । चिकित्सकले निको भएका संक्रमितलाई होम क्वारेन्टाइनको पूर्ण पालना गर्न सुझाव दिएका छन् ।पछिल्लो २४ घण्टामा २ हजार १ सय ६८ जनाको नमुना परीक्षण गर्दा कुनै पनि नयाँ संक्रमित नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राजधानी दैनिक