काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) झन् रहस्यमयी बन्न थालेका छन् । राजनीतिक दलका नेताहरुले जेन–जी आन्दोलनका योजनाकारण नै बालेन भएको टिप्पणी गरिरहँदा उनी भने सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
जेन–जी आन्दोलनमा सरकारी दमन र त्यसपछिको तोडफोड र आगजनीमा परेर अहिलेसम्म ७४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । परिवर्तनका लागि सहादत प्राप्त गरेकाहरुलाई सरकारले सहिद घोषणा गरेको छ ।
देशले शोक मनाएको छ । पीडित परिवार अझै शोकमा छ । तर जेन–जी आन्दोलनका योजनाकार भनिएका बालेन कतै देखिएका छैनन् । बरु सामाजिक सञ्जालमार्फत् फाट्टफुट्ट टिप्प्णीहरु गरिरहेका छन् ।
जेन–जीको आन्दोलनलाई सामाजिक सञ्जालमार्फत् नै समर्थन जनाउँदै आएका उनी आन्दोलनमा भने सहभागी भएनन् ।
बालेनले भदौ २३ गते हुन लागेको ‘जेन–जी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई पूर्ण समर्थन जनाउँदै सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू भने आउन नपाउने बताए । उनले आफ्नो फेसबुकमार्फत यो र्याली स्वस्फूर्त र २८ वर्षभन्दा कम उमेरका युवाको रहेको भन्दै यसमा कुनै पनि पार्टी, नेता वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्न नहुने सुझाव दिएका हुन् ।
शाहले आफू उमेर हदबन्दीका कारण र्यालीमा सहभागी हुन नमिल्ने भए पनि युवाहरूको इच्छा, उद्देश्य र सोच बुझ्न इच्छुक रहेको बताएका थिए । उनले लेखेका थिए– ‘भोलीको र्याली स्पष्ट र स्वस्फूर्तरूपमा जेनजीको हो, जसका लागि म पनि अझै बुढो देखिन्छु ।’
मेयर शाहले युवाहरूलाई सम्बोधन गर्दै ‘कस्तो देश देख्न चाहनुहुन्छ ?’ भनी प्रश्न पनि गरेका छन् । उनले यो र्यालीमा कुनै पनि राजनीतिक दल, नेता वा कार्यकर्ताले बाठो बन्ने प्रयास नगर्न चेतावनी दिँदै युवाहरूको कुरा बुझ्न जरुरी रहेको र आफ्नो पूर्ण समर्थन रहेको उल्लेख गरेका छन् ।
जेन–जी आन्दोलन अघिल्लो दिन स्टाटस लेखेर उमेरका कारण म उपस्थित हुन सक्दिैन भन्ने बालेनले भोलिपल्टै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आतंककारीको संज्ञा दिएका थिए ।
जेन–जी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको ज्यान गएपछि काठमाडौं महानगर प्रमुख शाहले कठोर शब्द प्रयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका हुन् ।
आन्दोलनका क्रममा भएको घटनापछि मध्यराति आफ्नो फेसबुक स्टाटसमा मेयर शाहले ओलीको आलोचनासहित लेखेका थिए् ।
‘तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस । यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन । त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्कवादी होस्,’ उनले लेखेका थिए ।
शाहले आफ्नो फेसबुक स्टाटसमा ह्यासट्याग #kpoliisterrorist पनि प्रयोग गरेका छन् ।
पहिलो दिनको आन्दोलनमा धेरै युवा मारिएपछि पनि बालेन सडकमा आएनन् । युवाहरुले बालेनलाई पटकपटक आउन आह्वान गरिरहे । तर उनी बन्द कोठाबाट बाहिर निस्किएनन् ।
बरु २४ गते मंगलबार युवाहरुको आक्रोस चुलियो । त्यही क्रममा घुसपैठ पनि भयो र देशका महत्वपूर्ण संरचनाहरुमा आगजनी भयो । सुरक्षा निकाय पछि हट्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा घोषणा गरे । तर पनि विध्वंस रोकिएन ।
त्यसै दिन भदौ २४ गते दिउँसो सवा तिन बजे तिर बालेनले फेरी अर्को स्टार्टस लेखे ‘हामीले स्पष्ट रूपमा भनेका थियौँ । यो नितान्त जेनजीहरुको आन्दोलन हो । प्रिय जेनजीहरु, तपाईँहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !! देशको जनधनको क्षति भनेको तपाईँ हाम्रै सम्पत्तिको क्षति हो । तपाईँ–हामी अब संयमित हुनु जरुरी छ ।
उनले त्यति मात्र लेखेनन् । अगाडि थपे– अब तपाईँको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला ! साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ । प्रिय जेनजी भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ? देश आगोको भुंग्रोमा जल्ने क्रम नरोकिएपछि उनको अर्काे स्टाटस आयो प्लीज जेनजी देश तपाइँहरुकै हातमा हो, तपाईं हरुले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस ।
अन्तत: सेनाले हस्तक्षेप गरेपछि स्थिति शान्त भयो ।
त्यसपछि सेनाले नै वार्ताको अग्रसरता लियो । सेनाले समन्वय गर्नुपर्ने प्रस्ताव उनी बालेन शाहले गरेको बताइएको छ । उनले सेनासँगसमेत कुरा गरेको बताइएको छ । त्यसपछि सेना, जेन–जीका प्रतिनिधिहरुबीच पटकपटक वार्ता भयो । राष्ट्रपतिसमेतको सहमतिमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइयो । त्यसो त बालेन स्वयम्लाई प्रधानमन्त्री बन्ने प्रस्ताव नआएको होइन । जेन–जीको रोजाइमा बालेन नै थिए । तर उनले प्रधानमन्त्री बन्न अस्वीकार गरिदिए ।
२५ गते राती बालेनले फेरि सामाजिक सञ्जालबाटै प्रतिक्रिया दिए–अप्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह, अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ ।
तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ । यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला । अब देश अन्तरिम सरकारमा जाँदै छ, जसले देशमा नयाँ चुनाव गराउनेछ । यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने, देशलाई नयाँ जनादेश दिने हो ।
यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु । तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ ।
अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोस, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारिता देशलाई स्थायी रूपमा चाहिएको हो,अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला ।
सम्माननीय राष्ट्रपतिज्यू, जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद्को विघटन अविलम्ब गर्नु होला । यही स्टाटसबाट बालेनले आफू किन अहिले प्रधानमन्त्री बनिन् र प्रधानमन्त्री र मन्त्रीका लागि दौड लगाइरहेका हर्कहरुले पनि किन प्रतिक्षा गर्नुपर्छ भन्ने प्रष्ट जवाफ दिएका छन् ।
बालेन ६ महिनाको अन्तरिम सरकार प्रमुख होेइन एकै पटक देशको कार्यकारी बन्ने लक्ष्यमा छन् । जसको बाटो कोर्न आफ्ना विश्वासपात्र रहेका कानूनी सल्लाहकारलाई देशको कानून र गृहमन्त्री बनाइसकेका छन् ।
सुशीलालाई समर्थन गरेको स्टाटपछि जेनजी सहिदहरूलाई श्रद्धाञ्जली दिँदै बालेन फेसबुकबाट पनि हराएका छन् । देशको प्रधानमन्त्री बालेनलाई बनाउनु पर्छ भन्ने चर्को आवाज उठी रहेको थियो । बालेनले आफ्नो मोवाइल पनि अफ गरे ।
बालेनले भने झैँ नेपाली सेनासँग नै वार्ता भयो । सुशीला कार्की नै प्रधानमन्त्री भइन । बालेनले प्रतिनिधि सभा भङ्गको माग गरेका थिए त्यो पनि पुरा भयो । धरान मेयर हर्क साम्पाङ प्रधानमन्त्री माग्दै सेनाको हेड्क्वाटरसम्म धाए ।
तर बालेन प्रधानमन्त्री बन्नु पर्ला कि भनेर मोबाइल अफ गरेर बसे । यसैलाई आधार मानेर प्रधानमन्त्री बन्न हौसिएका हिजोका बालेनका समर्थक धरानका मेयर हर्क आज उनकै विरुद्धमा उभिएका छन् । उनले पटक पटक बालेनतर्फ लक्षित गर्दै भगौडा भनेका छन् ।
उनले आज मात्रै पनि बालेनतर्फ लक्षित गर्दै भनेका छन्, लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ ! लिडर भनिंदैन ! यति बेला जेनजीहरु बिच असली जेनजीको भन्ने विवाद पनि बाहिर आइरहेको छ । तर बालेन मौन छन् । जेनजी आन्दोलनका सूत्रधार गर्ने व्यक्तिहरु नै पर्दामा देखिएका छैन ।
हामी नेपाली अभियानका अभियान्ता सुदन गुरुङ चर्चामा छन् । अर्का अभियान्ता मिराज ढुंगानाले पनि सुदनको योगदान ठूलो रहेको बताइसकेका छन् । सुदनको भूकम्पको समयदेखि नै बालेनसँग निकट सम्बन्ध रहेको खबरहरु बाहिरिरहेका छन् ।
यद्यपि बालेनका कानुनी सल्लाकारलाई गृहमन्त्री बनाएको भन्दै गुरुङले आक्रोश पोखेका भिडियोहरु समेत बाहिरिरहेका छन् । वास्तविकता अहिले सम्म बाहिर आइसकेको छैन । धेरैको मनमा यो आन्दोलनका प्रमुख पात्र बालेन शाह नै भएको अनुमान छ ।
त्यसपछिको प्रमुख कारण भनेको बालेनले सामाजिक सञ्जालमा जे जे लेखे घटना क्रम त्यही त्यही भएको छ । सोमबार मात्र बालेन साहका कानुनी सल्लाहकार तथा जेनजी समूहका पनि सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्याल गृह तथा कानुन मन्त्रीको पदभार समालेका छन् ।
आन्दोलनपछि सेना र राष्ट्रपतिसँगको हरेक वार्तामा उनै बसेका थिए । बालेन शाहका विश्वास पात्र मानिएका अर्यालका सामु धेरै चुनौती मात्र छैनन् उनले गर्ने हरेक निर्णयको जस र अपजसको भार बालेन शाहसम्म ठोक्किने छ ।
जेन–जीको आन्दोलनमा महानगर प्रमुख बालेनले कतै देखिएनन् । तर पनि आन्दोलन सफल भयो । बालेनले चाहेअनुसारकै सरकार बनेको छ । त्यसपछि शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहले ‘जेन–जी’ आन्दोलनले मुलुकमा परिवर्तन ल्याएको बताएका छन् ।
युवा पुस्ताको योगदान र बलिदानको उच्च प्रशंसा गर्दै शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे ।
जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रधानमन्त्रीका रुपमा प्रमुख शाहलाई पहिलो रोजाइमा राखेका थिए । तर, उनले सरकार गठन प्रक्रियामा कुनै चासो नदेखाई आफूलाई अलग राखेका थिए ।
आफ्नो सन्देशमा उनले लेखेका छन्, ‘प्रिय जेन–जी, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ । वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली । तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ ।’ उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे ।
प्रमुख शाहको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा भने देखिएका थिएनन् ।
जेन–जी आन्दोलनपछि संघीय लोकतान्त्रिक गणतन्त्र नै धर्मरायो । दलहरु रक्षात्मक बनेका छन् । नागरिकमा अझै अन्योल छ । पर्दापछाडि के खेल भइरहेको छ भन्ने चासो सर्वत्र छ ।
तर यी सबै हिसावले पर्दापछाडिका खेलाडी रहेका बालेन भने कतै देखिएनन् कतै सुनिएनन् । नेपाली नागरिकमा बालेन शाहले केही गर्छन् भन्ने अपेक्षा छ । जोसुकैले पनि बालेनको नाम लिने गरेका छन् । उनकै नाममा जेन–जी विद्रोह भएको छ । भलै उनी यो आन्दोलनमा सहभागी भएनन् । त्यति हुँदा पनि उनीप्रति नागरिकको भरोसा छ ।
आन्दोलन भयो, विद्रोह सफल भयो । तर न बालेन जेन–जीका सहिदप्रति श्रद्धाञ्जली दिन गए, न पीडित परिवारलाई भेट्न पुगे । न क्षति भएका भौतिक संरचनाको अवस्था बुझ्न नै कतै निस्किए ।
यसअघि कसैले महानगरमा जुुलुस गरेमा जुलुस सकिँदा नसकिँदै फोहोर भयो भन्दै जरिवाना गराउने बालेन यस पटकको अभियानमा भने कुनै गतिविधि गरेनन् । यसले बालेनको रहस्य झन् झन् रहस्यमय बनिरहेको छ ।










