१९ मंसिर २०८२, शुक्रबार
,
Latest
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी प्रदर्शनमा दिनेशको मृत्यु भएपछि विचल्लीमा परिवार



अ+ अ-

झापा । अर्जुनधारा नगरपालिका-८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी जेनजी प्रदर्शनमा सहिद भएपछि परिवारको विचल्ली भएको छ । विर्तामोडमा गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा सहभागी उहाँ प्रहरीको गोली लागेर घाइते हुनुभएको थियो । स्थानीय बिएण्डसी टिचिङ हस्पिटलमा उपचारका क्रममा गत भदौ २७ गते बिहान उहाँको निधन भयो ।

पौरखी र मिलनसार स्वभावका उहाँ दुई वर्ष खाडीमुलुक कतारमा बसेर स्वदेश फर्किनुभएको थियो । स्वदेशमा केही उद्यम गर्ने सोचका साथ उहाँले परिवारको जीविकोपार्जनका लागि मासु पसल सञ्चालन गर्न थाल्नुभएको थियो । उहाँकी पत्नी जान्ती राजवंशीले आयआर्जनका लागि दैनिक ज्यालादारी काम गर्नुहुन्छ ।

दिनेशको पाँच वर्षीय एक छोरा रिदम र एक वर्षीया छोरी दिपीका अहिले पनि बुबा घर आउनुहोला भनेर बाटो कुरिरहेका छन् । उहाँकी ३० वर्षीया पत्नी जान्ती र ५५ वर्षीया आमा सपना राजवंशीको आँखाबाट आँसु ओभाएका छैनन् । बुबा मङ्गलु राजवंशीको तीन वर्षअघि निधन भइसकेको छ ।

जेनजी प्रदर्शनमा दिनेशले सहादत प्राप्त गरेपछि उहाँमाथि आश्रित परिवार आर्थिक रूपमा कमजोर बन्दै गएपछि परिवारको विचल्ली हुने हो कि भन्ने चिन्ता लागेको राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीले बताउनुभयो । “विदेश गएर कमाएको पैसाले घर चल्दै आएको थियो”, उहाँले भन्नुभयो, “देशभित्र रोजगारी नपाएपछि फेरि रोमानिया जाने तयारीमा हुनुहुन्थ्यो उहाँ । साना नानीहरू र परिवारको पालनपोषणको जिम्मेवारी अब कसले लिने ?”

दिनेशको सानो कच्ची घरमा दाजु र भाउजुसहितको संयुक्त परिवार बसोबास गर्दै आएको छ । उहाँको निधनपछि छोराछोरी र आमाको पालनपोषण कसरी गर्ने भनेर चिन्ता थपिएको दिनेशकी पत्नी जान्तीले बताउनुभयो । “घरमा साना छोराछोरी छन्, तिनीहरूलाई हुर्काउने, पालनपोषण गर्ने र पढाउनका लागि कमाएर ल्याउने जिम्मेवारी मेरो काँधमा आएको छ”, उहाँले भन्नुभयो, “वृद्ध सासुआमा हुनुहुन्छ । घरको कमाएर ल्याउने मान्छे नरहेपछि अब कसरी बाँच्नु ।”

मासु बिक्रीको सानो पसल चलाउँदै आएका दिनेश देशभित्र रोजगारीको अवसर नदेखेर रोमानिया जाने तयारी गर्दै हुनुहुन्थ्यो । उहाँको निधनपछि परिवारको गर्जो कसरी टार्ने भनेर दिनेशको परिवारमा चिन्ता थपिएको छ । एसएलसीसम्म अध्ययन गर्नुभएका दिनेश परिवारका आशा र भरोसा हुनुहुन्थ्यो ।

“मैले आर्थिक अवस्था कमजोर भएकै कारण धेरै पढ्न नसके पनि आधा गाँस नखाएरै छोराछोरीलाई धेरै पढाउँछु भन्नुहुन्थ्यो”, दिनेशकी पत्नी जान्तीले भन्नुभयो, “उहाँको सपना अब अधुरै रह्यो ।”

गत भदौ २४ गते विर्तामोडमा भएको जेनजी प्रदर्शनमा दिनेश घाइते भएको खबर सुन्नेबित्तिकै जान्ती बिएण्डसी हस्पिटल पुग्नुभएको थियो । जहाँ दिनेश जीवन र मृत्युको दोसाँधमा छटपटाइरहनुभएको थियो । घाइते भएको तीन दिनमा उहाँको निधन भयो ।

हाल दिनेशको काजकिरिया उहाँको दाजु गोवर्द्धन राजवंशीले गरिरहनुभएको छ । रोजगारीको सिलसिलामा विदेशमा रहनुभएका उहाँ भाइको निधन भएको खबर सुनेर स्वदेश आउनुभएको हो । भाइले मुलुकमा परिवर्तनका लागि जीवन दिएकाले छोरा रिदम र छोरी दिपीकालाई उच्च शिक्षासम्मको अध्ययन गर्ने वातावरण सरकारले बनाउनुपर्ने गोवर्द्धनको माग छ । उहाँले भन्नुभयो, “परिवारको निर्वाह र सन्तानको शिक्षादीक्षाको जिम्मा राज्यले लिनुपर्छ ।”रासस