३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा

सिंहदरबारको तातो खरानीमाथि सुशीलाको यात्रा

सिंहदरबारको तातो खरानीमाथि सुशीलाको यात्रा
अ+ अ-

काठमाडौं । देशको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की पहिलो महिला प्रधानन्यायाधीश बन्न सफल भएकी छन् । उनको न्यायपालिकाको नेतृत्वबाट अवकाश लिएको झन्डै ८ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्न पुगेकी हुन् ।

निकै असहज परिस्थितिपछि उनी कार्यपालिकाको नेतृत्व लिन पुगेकी हुन् । उनी आफैं कानुनको ब्याख्याता भए पनि संविधानको गलत व्याख्या गरेर प्रधानमन्त्रीमा नियुक्त हुँदै सपथ लिएकी हुन् ।

हुन त उनलाई राजनीतिक क्रान्तिले प्रधानमन्त्री बनाएको भन्ने आधार छ । ६१ जनाभन्दा बढीको ज्यान जाने गरिए भएको जेन–जी पुस्ताले गरेको आन्दोलनको बलले उनलाई त्यहाँ पुर्‍याएको हो । तर नियुक्तिका लागि संविधानको छिद्रको सहारा लिनुपरेको छ ।

जेनजी पुस्ताले गरेको आन्दोलनले व्यवस्था नै परिवर्तन गरिदिएको हो । व्यवस्था परिवर्तन गरेपछि कार्की संविधानअनुसार प्रधानमन्त्री बनेकी होइनन् । संविधानमा त प्रतिनिधि सभा सदस्य नभएका व्यक्ति प्रधानमन्त्री नै हुन नपाउने व्यवस्था छ । तर संविधानको यो व्यवस्थाको पुरै व्यवस्था गरिएको छ । यसमा उहाँलाई अदालतमा चुनौती पुग्न सक्छ । त्यो पार गर्न उनलाई साँच्चै नै सकस पर्न सक्छ । किनकी नेपालको न्यायालय चरम राजनीतिबाट गाँजिएको छ । न्यायाधीशहरु राजनीतिक आस्था र प्रभावका आधारमा नियुक्त भएका छन् । उनीहरुबाट हुने न्याय कति निष्पक्ष हुन्छ भन्ने प्रश्न पनि छ ।

न्यायपालिकाको नेतृत्वमा रहँदा हक्की र इमान्दार स्वभावका कारण चर्चामा आएकी पूर्वप्रधानन्यायाधीश कार्कीले जेनजीको प्रदर्शनका क्रममा भएको क्षतिग्रस्त संरचनाबाट मुलुकलाई नेतृत्व प्रदान गरेर अबको निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नसमेत चुनौती छ । किनकी ६ महिनाभित्रै निर्वाचन गर्न नसकेमा उहाँलाई अक्षम घोषणा गर्ने अधिकार राष्ट्रपतिमा निहित छ । राष्ट्रपतिलाई कार्यकारी अधिकार प्रदान गरिएको छ । जुन अधिकार जुनसुकै बेला पनि दुरुपयोग हुन खतरा छ । किनकी राष्ट्रपति उनै व्यक्ति छन् जो नेपाली कांग्रेसको राजनीतिबाट आएका छन् ।

कार्यपालिकाको नेतृत्व सुशीला कार्कीले लिए पनि देश चलाउने कर्मचारीले नै हो । कर्मचारीले सहज महसुस गरेनन् भने कार्कीलाई पनि सहज हुने छैन । तर कार्की नेतृत्वलाई स्वीकार गर्न कर्मचारीलाई सकस पर्ने छ । देशमा बढेको भ्रष्टाचारमा नेता तथा कर्मचारीको मिलेमतो छ भन्नेमा दुई मत छैन । यो अवस्थामा भ्रष्टाचारविरुद्ध निकै खरोरुपमा उत्रिने कार्कीलाई कर्मचारीलाई सहज रुपमा काम लगाउन पनि चुनौती छ ।

राज्यको कर्मचारी संयन्त्रमा व्यापक पुनर्संरचना आवश्यक छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच कहिल्यै तालमेल मिल्दैन । दुवै पक्षको स्वार्थ मिलेमा मात्र तालमेल मिल्ने गरेको छ । कर्मचारी संयन्त्र निकै परम्परागत र ढिला छ । यसलाई परिवर्तन गराउन सक्नुपर्ने छ ।

प्रधानन्यायाधीशबाट अवकाश पाउन करिब ४० दिन बाँकी छँदा उनले महाभियोगको सामना गर्नुपरेको थियो । सत्तामा रहेका कांग्रेस र माओवादी सांसदहरूले उनीविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरे, पछि सर्वोच्च अदालतकै अन्तरिम आदेशका कारण महाभियोगको प्रस्ताव निस्तेज भयो । तर त्यसको इख कांग्रेस र माओवादीका नेतामाथि साँध्ने खतरा पनि उत्तिकै छ ।

अहिले सुशीला कार्की प्रधानमन्त्री बन्नुमा सबैभन्दा ठूलो योगदान जेनजीको छ । जेनजीले भ्रष्टाचारविरुद्ध आन्दोलन गरेका हुन् । उनीहरुले भ्रष्टाचारका संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् । अब प्रधानमन्त्री कार्यले तत्काल भ्रष्टाचारको छानबिन गर्न आयोग गठन गर्नुपर्ने छ । आयोग बनाएर मात्र होइन, उहाँले चुनाव गराउनुअघि नै त्यसको प्रतिवेदन लिएर कार्यान्वयन गर्नुपर्छ । अनि मात्र जेनजी आन्दोलनका क्रममा मारिएका सहिदको सम्मान हुने छ । तर त्यो सहज छैन । ६ महिना सरकारको नेतृत्व गरेर राजनीतिक वाद विवादमै अलमलिनुपर्ने अवस्था हुनसक्छ ।

नागरिकको चाहना सुशासन कायम होस् भन्ने छ । जेनजीले उठाएको प्रमुख माग नै भ्रष्टाचार नियन्त्रण गरी सुशास कायम गर्नु हो । यसैगरी सेवा प्रवाहमा भएको ढिलाइको पनि व्यापक आलोचना हुँदै आएको छ । अब कार्की नेतृत्वको सरकारले यस्ता विषयलाई कसरी सुधार गर्ने भन्ने चुनौती छ ।

प्रतिनिधि सभा त विघटन भयो, तर प्रदेश सभाहरुमा कांग्रेस, एमाले र माओवादी केन्द्रकै हालीमुहाली छ । संघबाट निर्णय गराएर पठाए कार्यान्वयन गर्ने ठाउँमा यिनै दलका नेता बसेका छन् । उनीहरुबाट सहयोग पाउने सम्भावना कति छ र आफ्ना निर्णय कसरी लागू गर्ने भन्ने चुनौती पनि कार्कीमाथि छ ।

प्रधानमन्त्रीमा नियुक्ति भएर सपथ लिएसँगै कार्कीले प्रतिनिधि सभा त विघटन गराउन सफल भएकी छन् । निर्वाचनको घोषणा पनि भइसकेको छ । तर जनताको सबैभन्दा ठूलो असन्तुष्टि शासकीय स्वरुपमा छ । अनि प्रदेश संरचनामा पनि उत्तिकै असन्तुष्टि छ । यी व्यवस्था परिवर्तन गर्न संविधान संशोधनको विकल्प छैन । तर आन्दोलित जेनजीका तर्फबाट राष्ट्रपतिसँग वार्ता गर्दा कार्कीले संविधान संशोधनको विषय नै उठाउन सकिनन् । यदि उठाएको भए त्यो विषय जनतालाई स्पष्ट पार्न सक्नुपर्छ । जबकी जेन–जी आन्दोलनका योजनाकार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह प्रदेश संरचनाका विरोधी मानिन्छन् ।

त्यसो त अहिले समानुपातिक निर्वाचन प्रणालीमा पनि जनताको चरम असन्तुष्टि छ । तर प्रतिनिधि सभाको आगामी निर्वाचनबाट पनि समानुपातिक व्यवस्था कायमै रहने छ । अहिले जसरी प्रतिनिधि सभा गठन भएको छ, अबको चुनावमा पनि त्यही अनुसार गठन हुन्छ । यसले जनताको असन्तुष्टि सम्बोधन गर्न सक्दैन ।

नयाँ सरकारलाई देशको आर्थिक अवस्था सुधार गर्नुपर्ने छ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन गरेर तत्काल पुनर्निर्माण गर्नुपर्छ । आन्दोलनमा घुसपैठ भएको बारे छानबिन गर्नुपर्ने छ । सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउनेहरुलाई कारबाही गर्नुपर्ने छ । यसरी अनेक चुनौतीका चाङमाथि बसेर सुरु भएको नवनियुक्त प्रधानमन्त्री कार्कीको यात्रा खुकुरीको धारमा बसेर अघि बढ्नुपर्ने देखिन्छ ।