काठमाडाैंः
सरकारले निजी प्रयोगशालाबाट पनि कोरोनाभाइरस (कोभिड—१९) परीक्षण गर्ने बाटो खोलेको छ । परीक्षण सम्बन्धी मापदण्ड निर्देशिका जारी गर्दै सरकारले कोभिड—१९ परीक्षण निजी प्रयोगशालाले पनि गर्न सक्ने गरी बाटो खोलेको हो । सरकारले बनाएको मापदण्ड अनुसार प्रयोशाला निर्माण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट छुट्टै अनुमति लिएर निजी प्रयोगाशालाले परीक्षण गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
मन्त्रालयमा साेमबार आयाेजित नियमित पत्रकार सम्मेलनका क्रममा डा देवकाेटाले सोमबारदेखि नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि काेराेनाभाइरसका लागि पिसिआर परीक्षण सुरु भएको जानकारी दिए । यो सँगै नेपालमा विभिन्न १६ स्थानमा पिसिआर विधिबाट कोरोना परीक्षण हुन थालेकाे छ । यसैगरी प्रदेश नम्बर १ ले कोरोना परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १०० बेडको अस्पताल सञ्चालनमा ल्याएको छ ।
संक्रमणकाे अवस्था
नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ । अहिले सबैभन्दा बढी विराटनगरमा ३१ जना उपचाररत रहेका छन् । यसैगरी वीरगञ्जमा ३ तथा भरतपुर र कैलालीमा १—१ जना उपचाररत रहेका छन् । अहिलेसम्म १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रवक्ता देवकोटाले केही ठाउँमा मात्र कोरोना दोस्रो चरणमा प्रवेश गरेको बताए । कोरोनालाई दोस्रो चरणमा नै सीमित राख्न लकडाउनको पूर्ण पालना र क्वारेन्टाइनमा व्यवस्थापनमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।
सोमबारसम्म ५३ हजार ५३४ जनाको नमुना परीक्षण भएको छ । पिसिआर विधिबाट १० हजार ४७१ र आरडिटी विधिबाट ४३ हजार ८३ जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १८४ जनाको नमुना परीक्षण गरिएको छ ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा आरडिटी परीक्षण भएको छ । त्यहाँ ११ हजार ९६१ वटा परीक्षण भएका छन् । यसैगरी प्रदेश नम्बर १ मा ४ हजार ५४५, प्रदेश नम्बर २ मा ५ हजार २०८ र बागमती प्रदेशमा ७ हजार ६२६ वटा परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ४ हजार ९२४, प्रदेश नम्बर ५ मा ३ हजार ४७१ र कर्णाली प्रदेशमा ५ हजार १२८ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
अहिले २० हजार १९५ जना देशभरी क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ८ र बाहिर ९८ सहित १०६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।