१३ असार २०८३, शनिबार
,
Latest
अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेश फर्कन चाहन्छन् विदेशमा बस्ने नेपाली !



अ+ अ-

काठमाडौँ । रोजगार, अध्ययन तथा विभिन्न कारणवश विदेशिएका नेपाली यतिबेला विदेशी भूमिमा कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुधिरहेका छन् । विदेशमा रहेका नेपाली वा नेपाली मूलका ४९ जनाको मृत्यु भइसकेको छ । सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ । कतिपयको रोजगारी गुमेको छ भने कतिपयको कम्पनीले घर फर्कन चाहेको छ । समस्या परेका बेला मातृभूमि सम्झिँदै विदेशमा रहेका धेरै नेपाली स्वदेश फर्कन चाहन्छन् तर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को मान्यता अनुसार यस्तो महामारी चलेका बेला जो जहाँ छन्, त्यहीँको सुविधा लिएर
बस्नुपर्छ । यही मापदण्ड पछ्याउँदै नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई विदेशमै रहन भनेको छ । महामारीका बेला विदेशमा कुनै विपत्तिमा नेपाली नागरिक नपरून् भनेर सरकार प्रमुख र सम्बन्धित मन्त्रालयका उच्चाधिकारीसँग त्यहाँ रहेका नेपालीका लागि सहज वातावरण बनाइदिन कूटनीतिक आग्रह गरिएको छ ।

विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्ने सम्बन्धमा कुनै निर्णय भइनसकेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए । उनले विदेशमा विभिन्न थरीका नेपाली छन्, सबैलाई त्यसरी फिर्ता ल्याउन तत्काल सकिने अवस्था हुन्न भने । गैरआवासीय नेपाली सङ्घलाई विदेशका विभिन्न भूमिमा यतिबेला परराष्ट्र मन्त्रालयले सक्रिय बनाएको छ । केही दिनअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपाली सङ्घमा आबद्ध पदाधिकारीसँग छलफल गरेर विदेशमा रहेका नेपालीलाई सक्दो सहयोग गर्न आग्रह गरेका थिए । सबैभन्दा बढी श्रम मुलुकमा रहेका नेपाली स्वदेश फर्कन चाहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रायः सबै श्रम मुलुकका नेपालीले फर्कन चाहेका छन् । कतिपय नेपाली कोभिडका कारण लकडाउनमा कम्पनी बन्द भएपछि कामविहीन भएर बसेका छन्, कम्पनीले यस्तो बेला उत्पादन गर्न नसक्ने भन्दै धेरै नेपाली श्रमिकलाई बिदा दिएको मन्त्रालयको मध्यपूर्व, पश्चिम एसिया र अफ्रिका विभागका प्रमुख हरिश्चन्द्र घिमिरेले भने ।

ती मुलुकमा कम्पनीको उत्पादन मात्र होइन, सेवा व्यवसायअन्तर्गत रहेको होटलसमेत बन्द छन् ।
मन्त्रालयले यतिबेला कुन देशका कति नेपाली फर्कन चाहन्छन् र कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर अध्ययन गरिरहेको छ । फर्कन चाहनेको लर्को ठूलो भएकाले पनि मन्त्रालयले ठूलै व्यवस्थापन गर्नुपर्ने हुुन्छ । सबैलाई फर्काउन नसकिए पनि अवस्था हेरी केही नेपालीलाई फर्काउन सकिन्छ कि भन्ने अवधारणामा काम भइरहेको मन्त्रालयले जनाएको छ । थुप्रै देशबाट स्वदेश फर्कन चाहनेको सन्देश आइरहेको छ तर त्यो गर्न सक्ने अवस्था छैन्, जहाँ जे जस्तो अवस्थामा बसेका छन्, त्यहीँको स्थानीय सुविधा प्रयोग गर्नु भनेर भनिरहेका छौँ, परराष्ट्र मन्त्रालयस्थित युरोप हेर्ने शाखाका प्रमुख निर्मल काफ्लेले भने । उनका अनुसार मन्त्रालयले विभिन्न दूतावाससँग निरन्तर सम्पर्क गरेर नेपालीको स्थिति बुझिरहेको छ ।

गैरआवासीय नेपाली सङ्घका अनुसार हटलाइनमा फोन गर्नेमध्ये फर्कन चाहने ७७ प्रतिशत छन् । अन्य ११ प्रतिशतले विदेश जान आवश्यक प्रक्रिया पूरा गरिदिन आग्रह गरेका छन् । अन्य समस्या हुनेमा १२ प्रतिशत विदेशमा अध्ययन गर्न गएका विद्यार्थी छन् । यूएई, भारत, मलेसिया, साउदी अबर, दक्षिण कोरिया, मोजाम्बिक, फिनल्यान्ड, अमेरिका, युके लगायत अन्य देशमा बसोबास गर्ने गैरआवासीय नेपालीले विभिन्न माध्यमबाट समस्या बताउने गरेका छन् ।

सङ्क्रमित बढ्दै

परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली सङ्घको संयुक्त जानकारी अनुसार विभिन्न २२ देशमा रहेका नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् । विभिन्न देशमा ४९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । सङ्घका अनुसार बेलायतमा ३३, अमेरिकामा १०, यूएईमा दुई, आयरल्यान्डमा एक, जापानमा एक, टर्कीमा एक र नेदरल्यान्डमा एक जना नेपालीको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको छ । विभिन्न मुलुकमा झन्डै दुई हजार नेपाली कोरोनाबाट सङ्क्रमित छन् । सबैभन्दा बढी अमेरिकामा एक हजार नेपाली सङ्क्रमित छन् । त्यसपछि बेलायतमा सात सय, यूएईमा ८१, बहराइनमा ४९ नेपाली सङ्क्रमित छन् ।

त्यस्तै कतारमा १८, पोर्चुगलमा २२, आयरल्यान्डमा २२, कुवेतमा ४२, अस्ट्रेलियामा ११, स्पेनमा १२, बेल्जियममा छ, स्विजरल्यान्डमा पाँच, साउदी अरेबिया र जर्मनी चार÷चार जना नेपालीमा सङ्क्रमण छन् । त्यसैगरी मलेसिया र क्यानडामा तीन/तीन, जापान, माल्टा र हङकङमा दुई/दुई जना, इजरायल, म्यानमार, र फ्रान्समा एक/एक जना नेपालीमा सङ्क्रमण देखिएको छ । सङ्घका अनुसार विदेशमा सङ्क्रमित भएका, मृत्युवरण गरेका र अप्ठ्यारोमा परेका नेपालीका लागि आवश्यक सहयोग, उद्धार तथा राहत लगायतको काममा नेपाल सरकार र विदेशस्थित कूूटनीतिक नियोग तथा सरोकारवालासँग सहकार्य र समन्वय गरेर काम अघि बढाइएको सङ्घले जनाएको छ । गोरखापत्र दैनिक