सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले श्रम सम्झौता भएका सबै मुलुकहरुसँग रूपमा हुलाक सेवासम्बन्धी सम्झौता गर्नुपर्ने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको हुलाकप्रतिको विश्वास र प्रभावकारिता बढाउन श्रम सम्झौता भएका मुलुकहरुसँग हुलाक सम्झौता गर्नुपर्ने अपरिहार्य आवश्यकता रहेको बताउनुभएको हो । नेपाली नागरिक बसोवास गर्ने देशहरुमा समेत हुलाक सेवा विस्तार गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले नेपाली नागरिक भएका सबै देशहरुमा हुलाक सेवा विस्तार भए मात्र संस्थाप्रतिको विश्वास र प्रभावकारिता बढ्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरुमा अनिवार्य रुपमा हुलाकको प्रबन्ध हुनुपर्यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ । ति ति देशहरुमा अनिवार्य रुपमा हुलाकको प्रबन्ध हुनुपर्यो । यति गर्न सकियो भने मात्र यो हुलाकको काम हुन्छ । त्यसो गर्न सकियो भने मात्र हुलाकप्रतिको विश्वास र प्रभावकारिता पनि बढेर जान्छ । अर्को कुरा नेपाली नागरिक बसोबास गरेका सम्पूर्ण देशहरुसँग पनि हुलाक सम्झौता गर्नुप¥यो । यति काम गर्न सकियो भने हामीले हुलाकलाई राम्रो संस्थाको रुपमा विकास गर्नसक्छौं ।’
उहाँले हुलाक सेवा विभागले तिर्नुपर्ने बाँकी वक्यौताको लागि अर्थ मन्त्रालयसँग आवश्यक पहल गर्ने आश्वासन दिनुभयो ।










