९ आश्विन २०८१, बुधबार
,
Latest
दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै किसान महिला राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री लेखक राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण: अध्यक्ष दाहाल ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं: मेयर महर्जन नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबी प्रक्षेपण ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाईमार्गबाट ३७ टन स्वास्थ्य सामग्री ल्याउँदै नेपाली सेना



अ+ अ-

काठमाडाैंः नेपाली सेनाले चीनको ग्वान्जाओबाट हवाईमार्ग हुँदै कूल ३७ मेट्रिक टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउने गरी आवश्यक प्रक्रिया मिलाएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नेपाल ल्याउन लागिएको स्वास्थ्य सामग्रीको भन्सार जाँच तथा आवश्यक लेबलिङको काम आजदेखि चीनको ग्वान्जाओमा शुरु भएको छ ।

नेपाली सेनाले कोभिड–१९ को सक्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री स्थल तथा हवाई गरी दुवै मार्गबाट ल्याउने व्यवस्था मिलाएको छ । प्रवक्ता पाण्डेका अनुसार चीनको ग्वान्जाओमा भन्सार प्रक्रियाका लागि लेबलिङको कार्य शुरु भएको छ । चीन सरकारले गत अप्रिल १० देखि मेडिकल सामग्री निर्यात गर्नुपूर्व भन्सारबाट ‘लेबलिङ र सर्टिफिकेशन’ प्रक्रियालाई थप कडाइ गरेको छ ।

सेनालाई चीनबाट प्राप्त विवरणअनुसार सो प्रक्रिया पूरा गर्न तीनदेखि पाँच दिन लाग्न सक्ने बुझिएको छ । नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका तर्फबाट बेइजिङस्थित सैनिक सहचारी तथा नेपाली सेनाका प्रधानसेनापतिबाट आआफ्नो माध्यमबाट भन्सार प्रक्रिया यथाशिघ्र गरिदिन अनुरोध गरिएको छ । भन्सारको प्रक्रिया सम्पन्न हुने वित्तिकै नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले दुई वटा उडान गरी ३७ मेट्रिक टन सामान ल्याउने गरी योजना बनाइएको छ ।

हाल मित्रराष्ट्र चीनबाट दिइने सुविधामा हवाई ढुवानीको वास्तविक मिति तय हुने सेनाले जनाएको छ । “हामीलाई तयारी सकियो भन्ने जानकारी प्राप्त हुने वित्तिकै हवाई जहाज उडाउने गरी तम्तयारी हालतमा राखिएको छ” प्रवक्ता पाण्डेले भन्नुभयो ।

नेपालतर्फ हिँडे केही कन्टेनर

चीनको ग्वान्जाओबाट स्थलमार्ग हुँदै २४० क्यूबिक मिटर सामान नेपालतर्फ आइरहेको जानकारी प्राप्त भएको छ ।

स्थलमार्गबाट बुधबार १३० क्यूबिक मिटर र यही वैशाख २२ गते ११० क्यूबिक मिटर सामग्री पनि नेपालतर्फ आउँदै गरेको जानकारी प्राप्त भएको छ । यस्तै ३०० क्यूबिक मिटर स्वास्थ्य सामग्री आजै नेपालतर्फ आउने तयारी गरिएको छ । चीनको ग्वान्जाओमा छिमेकी मित्र राष्ट्र चीनमा अन्तरराष्ट्रिय मजदूर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण स्वास्थ्य सामग्री ल्याउन केही दिन ढिलाई भएको हो ।

चीनमा मे १–५ तारिखसम्म सार्वजनिक बिदा दिइएको थियो । सार्वजनिक बिदाका कारण भन्सारलगायतका आवश्यक प्रक्रिया पूरा गर्न नसकिने भएकाले केही दिन थप समय लागेको हो । सेनाले स्वास्थ्य सामग्री खरिदका लागि सरकारी– सरकारी तह (जिटुजि) मा प्रक्रिया अगाडि बढाएको थियो । तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई माध्यमबाट ल्याइने र अन्य सामग्री भने स्थलमार्गबाट ल्याउने गरी व्यवस्था मिलाइएको हो ।

चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो । हवाई मार्गबाट कूल ३७ टन सामान आयात गरिने र बाँकी रहेका ३०५ टन सामान भने स्थलमार्ग हुँदै नेपाल– चीन सिमाना तातोपानी ल्याइनेछ ।

ग्वान्जाओबाट हिँडेको सामान सात दिनमा तातोपानी आइपुग्नेछ । सेनाले केही दिन पहिले नै नेपाल राष्ट्र बैंकमार्फत पैसा चीन पठाएको थियो । ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको थियो । अत्यावश्यक सामान खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६।३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन ।

नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको छ । कूल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो । स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको छ ।

अत्यावश्यक सामग्री तातोपानी नाकामा ल्याएर अर्को गाडी राखेर नेपाल ल्याउनेभन्दा पनि सकभर चिनियाँ ढुवानीकर्ताको साधनबाट एकैचोटी डिपोमा ल्याउने तवरले कुराकानी भएको छ । चीनले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन प्राथमिकता दिएको छ ।

कोरोनाले विश्वव्यापी महामारीको रूप लिएसँगै प्रभावित मुलुकमा चीनले स्वास्थ्य सामग्री आपूर्ति गरिरहेको छ । चीनबाट व्यक्तिगत सुरक्षाका सामग्री (पिपिई), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडकमार्ग हुँदै ल्याउने तयारी गरिएको छ ।

त्यस्तै भारतबाट ५३ प्रकारका औषधि ल्याउने तयारी गरिएको छ ।