काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी सूची अद्यावधिक गरेको छ। आयोगले ६२ जना केन्द्रीय सदस्यसमेत समावेश भएको नयाँ सूची सार्वजनिक गरेको हो।
यो अद्यावधिक रास्वपाले गत असार ७ मा गरेको निर्णय अनुसार गरिएको हो। नयाँ अभिलेखअनुसार, महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झा नियुक्त भएका छन्। पदाधिकारीमा सह–महामन्त्री एक जना मात्र रहेका छन्।
नयाँ संरचना अनुसार, सभापतिमा रवि लामिछाने, उपसभापतिमा डोलप्रसाद आर्याल र स्वर्णीम वाग्ले रहेका छन्। सुमना श्रेष्ठले सह–महामन्त्री पदबाट राजीनामा दिएपछि उनी केन्द्रीय सदस्य मात्र बनेकी छन्। अद्यावधिक सूचीमा योजना आयोगका पूर्व सदस्य अरनिको पाँडे पनि समावेश छन्।
यसअघि, निर्वाचन आयोगले रास्वपामा पदाधिकारी हेरफेर नभएको जानकारी दिएको थियो। सो आधारमा पूर्वमहामन्त्री मुकुल ढकाल सर्वोच्च अदालत गएका थिए, तर मंगलबार सर्वोच्चले उनको रिट खारेज गरेको हो।













