२३ मंसिर २०८२, मंगलवार
,
Latest
सिरहाका चारवटै क्षेत्रमा कांग्रेसको उम्मेदवार सिफारिस मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल ‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा हङकङ आगलागीमा मृत्यु सङ्ख्या १६० पुग्यो बारीको पाटामा जन्ते बाख्रो, मौलिक संस्कृति ब्युताउँने सेफहरुको प्रयास चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण ‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह,‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’ इन्डोनेसियाको राजधानीमा भीषण आगलागी, महिलासहित २२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मरिचखेती प्रवर्द्धन गर्दै पोखरा महानगर



अ+ अ-
गण्डकी । देशभर नै बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढ्दो छ । बाँदरको समस्या समाधान र विकल्प खोजी भइरहँदा पोखरा महानगरले भने वडा नं २८ मा बाँदरले दुःख नदिने तर उत्पादनले उचित मूल्य पाउने मरिच खेती प्रवर्द्धन गर्ने भएको छ ।
महानगरपालिकाले यसै वर्ष ४०० मरिचका बिरुवा वितरण गरेको महानगरका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो । बाँदरको प्रकोप नहुने र असिना आदि समस्या पनि नहुने भएकाले वडा कार्यालयसँग समन्वय गरी मरिचका बिरुवा वितरण गरेको उहाँले बताउनुुभयो ।
सो वडामा स्याङखुदी टारीका अगुवा कृषक सूर्यमोहन बास्तोलाले मरिच खेतीबाट राम्रो आम्दानी गर्नुभएको छ । सोही खेतीलाई दृष्टिगत गरी वडामा मरिच खेती प्रवर्द्धन र विस्तार गर्न लागिएको हो । बास्तोलाले घर वरपरका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सय बढी हरिया रूखका फेदमा लगाएको मरिचले उत्पादन दिन थालेपछि महानगरपालिका पनि मरिच खेतीको प्रवर्द्धनमा जुटेको हो ।
बजारमा मरिच कालो सुनका रुपमा समेत परिचित छ । प्रतिकिलो रु दुई हजार पर्ने यो मसलाजन्य बाली बास्तोलाले २०४६ सालदेखि लगाउन थाल्नुभएको हो । आफूले २०४६ सालमा लेखनाथको भण्डारढिकस्थित पण्डित सोमनाथ आत्रेयसँग १०/१० रुपैयाँका दरले दुईवटा मरिचका बिरुवा किनेर ल्याएको अनुभव सुनाउनुभयो ।
बास्तोलाले हाल वार्षिक ६० देखि ७० किलोग्राम मरिच उत्पादनसँगै नर्सरी तयार गरी बिरुवा बिक्री गर्दै आउनुभएको छ । उहाँका अनुसार प्रत्येक वर्ष असारमा फल्न सुरु भई चैतमा मरिचका दाना टिप्न सकिन्छ । उहाँले एउटा बिरुवा १५० रुपैयाँदेखि २०० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताउनुुभयो । उहाँको फार्मबाट पुरनचौर क्षेत्रमा ४०० मरिचका बिरुवा रोप्न लगेको र माछापुच्छ«े गाउँपालिकामा ४०० बिरुवा लैजाने तयारी रहेको जानकारी दिनुभयो ।
“मैले दुईवटा बिरुवाबाट मरिचखेती सुरु गरेको थिएँ,  यतिखेर राम्रो उत्पादन त छँदै छ नर्सरीमा एक हजार ५०० बिरुवा बिक्रीका लागि तयार छन्”, उहाँले भन्नुुभयो ।   बाँदरले पनि नखाने र कुनै किराको प्रकोप मरिचखेतीमा नहुने भएकाले मनग्गे आम्दानी लिन सकिने उहाँको भनाइ छ ।
उहाँको मरिचखेती गत वैशाखमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवलोकन गर्नुभएको थियो । अवलोकनसँगै महानगरप्रमुख आचार्यले मरिचखेतीको विस्तारमा जोड दिँदै कृषकलाई बिरुवा वितरण सुरु गर्नुभएको हो । मरिचखेतीबाट सामान्य लगानीमा अधिकतकम फाइदा लिन सकिने महानगरपालिकाका कृषि विकास शाखाप्रमुख कडरिया बताउनुहुन्छ ।
सामान्यतः एक हजारदेखि एक हजार २०० मिटरको उचाइमा मरिचखेती हुने बताउँदै उहाँले सामान्यतः ओसिलो ठाउँमा यसको उत्पादन हुने जानकारी दिनुुभयो । बहुवर्षे सदाबहार मरिच लहरे बाली हो ।
भियतनाम, भारत, ब्राजिल, मलेसिया, इन्डोनेसिया, चीन र श्रीलङ्कामा यसको व्यावसायिक खेती हुने गरेको छ । नेपालमा मोरङ, सुनसरी, झापा, रामेछाप, लमजुङलगायतका जिल्लाहरुमा मरिचखेती हुने गरेको छ । मरिचको प्रयोग मसला र आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिन्छ । खाना पचाउने, भोक लाग्ने, खोकीको उपचार, श्वासप्रश्वास र मुटु रोगका लागि पनि मरिच प्रयोग गरिन्छ ।
वडामा कृषितर्फ आकर्षण बढाउन निरन्तर पहल भइरहेको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिनुुभयो । वडाभित्र व्यावसायिक पशुपालनलाई पनि जोड दिइएको छ । उहाँले वडाबाटै वार्षिक रु एक करोड ३० लाखको दूध बिक्री हुने गरेको बताउनुभयो ।
मरिचखेती विस्तारसँगै मसलाजन्य बाली उत्पादनमा जोड दिने लक्ष्य राखिएको बताउँदै उहाँले कृषिजन्य उत्पादनमा आत्मनिर्भरता बढाउँदै यसबाट स्थानीयवासीको आयआर्जन बढाउने लक्ष्य राखिएको बताउनुभयो । रासस