६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो
अ+ अ-

वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले आफ्नो खेतमा रोपाइँ गरेको पनि एक महिना बितिसक्यो । तर, अहिले पनि उहाँलाई आवश्यक पर्ने मलखाद (रासायनिक मल) भने प्राप्त गर्न सक्नुभएको छैन । “एक त खडेरी लागेर यहाँको धानको रोपो जोगाउनै मुस्किल भयो,” उहाँले भन्नुभयो, “अहिले भने धानमा हाल्नुपर्ने मलको भने चर्को अभाव छ ।”

उहाँले धानखेती गर्नका लागि आवश्यकता अनुसारको मल नपाइरहेको गुनासो गर्नुभयो । “सोझासिधा कृषकलाई कहिले त पानीको समस्या हुने गर्छ,” उहाँले भन्नुभयो, “गाउँका टाठाबाठाले त सोर्सफोर्स लगाएर भए पनि जसरी पनि मलको जोहो गर्छन् । हामी त कसलाई भन्नु भनेर बसिरहनुपरेको छ ।”

अहिले तराई–मधेसका कृषकले धानमा युरिया मल छर्र्नै बेला भएको छ । तर, यहाँ युरिया मल प्राप्त गर्न भने धेरै मुस्किल पर्ने गर्छ । उहाँ मात्रै होइन, वीरगञ्ज महानगरपालिका–२८ बगहीका चार बिघा धान खेप्ती गर्दै आउनुभएका गेनालाल पटेल पनि अकासेपानी परेसँगै कृषकमा आशाको तन्द्रा जगाएको बताउनुभयो । “यहाँ पानी परेपछि अलिकति धान हुन्छ कि भन्ने आशा जगाउने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “सुक्खाग्रस्त हुँदा त धानको रोपो तथा बीउ पनि सुकिसकेको थियो । बीउ र धानको रोपो दुवै पलाउने आशा त जगाएको छ ।”

उहाँले पछिल्ला दिनमा अकासेपानी परे पनि मलखादको समस्याले अर्को तनाव सिर्जना गरेको गुनासो गर्नुभयो । “कृषि कर्म गर्नेलाई कहिल्यै पनि शान्त भएर बस्न पाइँदैन,” उहाँले भन्नुभयो, “हामी त अभावै अभाव झेल्दै आइरहेका छौँ । कहिले पानीको अभाव, कहिले मलखादको अभाव यो त सामान्य जस्तै भइसकेको छ ।” कृषि ज्ञान केन्द्र पर्साका अनुसार आव २०७८/७९ मा पर्सा जिल्लामा १६ हजार ९६७ मेट्रिक टन रासायनिक मलको प्रयोग भएको थियो । केन्द्रका अनुसार सो वर्ष युरिया मल १० हजार ९० मेट्रिक टन, डिएपी छ हजार ९६ मेट्रिक टन, पोटास २७५ मेट्रिक टन प्रयोग गरिएको थियो ।

पछिल्ला तीन वर्षमा मलको कति प्रयोग गरिन्छ भन्ने यकिन तथ्याङ्क भने आइसकेको छैन । केन्द्रका प्रमुख रामजीवन ठाकुरले पर्साको कृषियोग्य जमिनको उर्वराशक्ति घटेसँगै रासायनिक मलखाद अत्यधिक प्रयोग हुने गरेको बताउनुहुन्छ । “सरकारी मापदण्डअनुसार प्रतिकट्ठा तीन/चार किलोग्राम मल प्रयोग गर्नुपर्ने हुन्छ तर धेरै खेती उब्जाउने नाममा कृषकले प्रतिकट्ठा आठ/ १० किलोग्राम रासायनिक मल प्रयोग गर्दछन्,” उहाँले भन्नुभयो, “कृषकले अत्यधिक मात्रामा मल प्रयोग गर्ने भएकाले पनि अभाव हुने गरेको हो ।”

पर्सामा मलको उपलब्धता ६० प्रतिशत मात्रै

पर्सामा कृषकको मागअनुसार सरकारी अनुदानको मल उपलब्धता गराउन भने सकिएको छैन । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सरकारले तोकेको कोटाअनुसारको मलले ६० प्रतिशतको माग मात्रै पूरा गर्ने बताउनुहुन्छ ।

दुवै संस्थाले स्थानीय पालिकाको सिफारिसमा सम्बन्धित पालिकाका सहकारी संस्था तथा डिलरलाई उपलब्ध गराउने गर्छन् । रासायनिक मल खेतीयोग्य जमिनको क्षेत्रफल, विगत आवको मलको खपतको अभिलेख र बाली सघनताका आधारमा स्थानीय तहको कोटाअनुसार रासायनिक मलको बाँडफाँट गर्ने गरिन्छ । जिल्लाका १४ पालिकामा करिब १०९ डिलरमार्फत रासायनिक मल उपलब्ध गराउने गर्दछन् ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख दुर्गाप्रसाद पाण्डेयले आव २०८१/८२ मा पर्सामा १० हजार ९४७ मेट्रिक टन युरिया, डिएपी र पोटास मल बिक्री गरेको जानकारी दिनुभयो । यसमा युरिया मल पाँच हजार ३६५ मेट्रिक टन, डिएपी मल पाँच हजार १२६ मेट्रिक टन बिक्री गरिसकेको छ ।

त्यस्तै, पोटास मल भने ४३५ मेट्रिक टन वितरण गरिसकेको छ । सोही अवधिमा २० दशमलव ९० मेट्रिक टन चुन पनि वितरण गरेको छ । प्रमुख पाण्डेयले कृषकले पछिल्ला वर्षमा अत्यधिक मात्रामा रासायनिक मल प्रयोग गर्ने भएकाले सीमित कोटाको मलले पुर्‍याउन पनि निकै समस्या भइरहेको बताउनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मधेस प्रादेशिक कार्यालयका प्रमुख आमोज लामिछानेले पर्सामा मागको ६० प्रतिशत मात्रै मलको आपूर्ति हुने भएकाले पनि मलको समस्या हुने गरेको बताउनुभयो । “सरकारी कोटाअनुसार पर्सामा लगभग नौ प्रतिशत मात्रै मल प्राप्त हुने हो । तर, यहाँ करिब १३ प्रतिशत मल वितरण गर्दा पनि अभाव भयो भन्ने गरिन्छ ।

मलको अत्यधिक प्रयोग गरेकाले पनि मलको अभाव हुने गरेको छ । उहाँले यहाँ नगदेबाली उखु, सुर्ती र माछापालनलगायतमा पनि युरिया मलको प्रयोग हुने भएकाले पनि मलको अभाव देखिने गर्छ । साल्ट ट्रेडिङले गत आव २०८१/८२ मा पर्सामा युरिया मल दुई हजार १७९ दशमलव २०० मेट्रिक टन वितरण गरेको छ ।

त्यस्तै सोही अवधिमा डिएपी मल भने ५५९ दशमलव ४०० मेट्रिक टन र पोटास मल भने ७७ दशमलव ६५० मेट्रिक टन वितरण गरेको छ । साल्ट ट्रेडिङले अघिल्लो वर्षमा भने युरिया मल दुई हजार ४४६ दशमलव ८०० मेट्रिक टन, डिएपी मल दुई हजार ५१४ मेट्रिक टन र पोटास ९९ दशमलव २०० मेट्रिक टन वितरण गरेको थियो । जिल्ला प्रशासन कार्यालय पर्साले रासायनिक मल वितरण प्रणालीलाई व्यवस्थित गराउनका लागि सहकारी संस्था र डिलरलाई निर्देशन गरेको छ ।

कृषि सहकारी संस्थाद्वारा सस्तो मूल्यमा वितरण गर्ने रासायनिक मल वितरण प्रणालीमा गुनासा भएकाले पनि व्यवस्थित वितरण प्रणाली विकास गर्न अनुरोध गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृषि उपभोक्ता समितिले सस्तो र सुलभ मूल्यमा वितरण गर्नुपर्ने रासायनिक मल एग्रोभेट कम्पनीलाई वितरण गर्ने गरेकाले पनि सो नगर्न निर्देशन दिनुभयो ।

“कतिपय कृषि उपभोक्ता समितिले अनुदानबापत सस्तो मूल्यमा पाएको मल वास्ताविक कृषकलाई उपलब्ध नगराएर बिक्री वितरण गर्ने गुनासा आइरहेका छन्,” उहाँले भन्नुभयो, “प्रशासनले मल वितरण प्रणालीमा नियमित अनुगमन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनेछौँ ।” प्रजिअ अर्यालले रासायनिक मल वितरणमा पारदर्शिता अपनाउँदै व्यवस्थित खालको वितरण संरचना बनाउन आग्रह गर्नुभयो । रासस