काठमाडौं । झन्डै दुई वर्षदेखि प्यालेटिनीनी लडाकु समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी र उद्धारको पहल गर्न भन्दै उहाँकी आमा पद्मा र बहिनी पुष्पा इजरायल पुगेका छन् ।
इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल पुगेका हुन् ।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन संयुक्त राष्ट्रसंघसम्म लैजाने गरी उनीहरुलाई इजरायल सरकारले बोलाएको हो । दुवै जना हिजो इजरायल गएका थिए ।
इजरायलको तेलअविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, नेपालका लागि पूर्वराजदूत हानन गोदार लगायतले पद्मा र पुष्पालाई स्वागत गरेका थिए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारहरुलाई प्रतिक्रिया दिँदै विपिनकी आमा पद्माले आफूहरु विपिनलाई लिन आएको भन्दै सहयोगको अपिल गरिन् । उनले भनिन्– ‘म मेरो छोरो विपिनलाई लिन आएकी हुँ । मेरो छोरालाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुस्, सबैमा विनम्र अनुरोध छ ।’
विपिनकी बहिनी पुष्पाले भनिन्, ‘मेरो दाजु पढ्नका लागि आउनु भएको थियो, हाम्रो कसैसँग दुश्मनी छैन । उहाँलाई विनासित्ती नराख्नुस् । हामी उहाँलाई लिन धेरै टाढाको देश नेपालबाट आएका हौं ।’
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासी घर भएका विपिन जोशी कृषि विषयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’का लागि इजरायल गएका थिए । हमासले ७ अक्टोबर २०२३ मा इजरायलको किबुजमा आक्रमण गरेदेखि विपिन सम्पर्कमा छैनन् ।
सोही घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने हमास लडाकुले विपिनसहित २५१ जनालाई बन्धक बनाएका थिए । युद्धविरामको क्रममा कतिपयलाई हमासले मुक्त गरे पनि विपिन मुक्त भएका छैनन् ।
नेपाल सरकारले उनको रिहाइका लागि कूटनीतिक पहल बढाए पनि विपिनको अवस्था अझै अज्ञात छ ।











