१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाप थेप्न नसकेपछि त्रिभुवन विमानस्थलमा ‘भिजिटर पास’ बन्द !



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ‘भिजिटर पास’ सेवा बन्द गर्ने भएको छ । विमानस्थल कार्यालयले यात्रुहरुलाई पुर्‍याउन जाने आफन्त तथा परिवारजनको संख्या अत्यधिक बढेपछि यात्रुलाई नै बाधा पुगेको भन्दै भोलिदेखि भिजिटर पास बन्द गर्न लागेको हो ।

भिजिटर पास लिनेको भीडले विदेशीने यात्रुलाई विमानस्थलभित्र प्रवेश गर्न, चेकइन काउन्टरमा पुग्न, जहाजसम्म जान ढिलाई हुनेलगायतका समस्या भएपछि बन्द गर्न लागिएको हो । विमान उडानमै असर पर्न नदिन यो निर्णय गरिएको कार्यालयले जनाएको छ ।

भिजिटर पासका लागि अधिकांश पहुँच भएका, उच्च तहका कर्मचारी, सुरक्षा निकाय, राजनीतिक व्यक्तित्व लगायत देशैभरबाट अत्यधिक माग भनसुन हुँदै आउने गरेको थियो । यस्तो अवस्था अन्त्य गर्न अब पास नै बन्द गर्ने निर्णय भएको हो ।

अन्तर्राष्ट्रियतर्फ दैनिक ६ हजार यात्रु बर्हिगमन हुने गरेका छन् । उनीहरुलाई पुर्‍याउने भिजिटरको संख्या दैनिक १२ सयसम्म पुग्ने गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको छ । यो विमानस्थलबाट दैनिक ४५ देखि ५० को हाराहारीमा अन्तर्राष्ट्रिय उडान आवागमन हुन्छन् ।