६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

धारा सुकेपछि दमकलबाट पानी वितरण गर्दै चन्द्रपुर नगरपालिका

धारा सुकेपछि दमकलबाट पानी वितरण गर्दै चन्द्रपुर नगरपालिका
अ+ अ-

रौतहट। जिल्लाको चन्द्रपुर नगरपालिका–२ जुडिबेलामा असारको महिनामा पनि खानेपानीको हाहाकार भएको छ । खानेपानीका लागि घरमा गाडेका चापाकल सुकेपछि विगत दुई महिनादेखि सो क्षेत्रका पाँच वटा टोलका नागरिकलाई पिउने पानीको हाहाकार भएको हो ।

विगत २० दिनयता चन्द्रपुर नगरपालिकाको बारुणयन्त्रले सो क्षेत्रका नागरिकलाई दैनिक रूपमा पानी ओसारेर उपलब्ध गराइरहेको छ । जुडिबेलाको चौधरी, जोगी, नर्सरी, रैयालगायत टोलका करिब दुई सयभन्दा बढी परिवारलाई नगरपालिकाले बारुणयन्त्रमार्फत खानेपानी वितरण गरिरहेको नगरप्रमुख सञ्जयकुमार काफ्लेले जानकारी दिनुभयो ।

पिउने पानी नागरिकको नैसर्गिक अधिकार भएकाले स्थानीयलाई दैनिक रूपमा दमकलबाट टोलटोलमा राखिएका ड्रममार्फत पानी वितरण गरिरहेको उहाँले बताउनुभयो ।

ती टोलका करिब दुई सय परिवारलाई बारुणयन्त्रले दैनिक १२–१३ हजार लिटर पानी ओसारेर वितरण गर्दै आइरहेको नगरप्रमुख काफ्लेले उल्लेख गर्नुभयो । खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि नगरपालिकाले केही दिनभित्र चापाकल सुकेका टोलमा नयाँ धारा जडान गर्ने उहाँले जानकारी दिनुभयो ।

जुडिबेलामा अलपत्र खानेपानी आयोजनाको कामलाई शीघ्र अगाडि बढाइने नगरप्रमुख काफ्लेको भनाइ छ । सो क्षेत्रका करिब दुई हजार ५०० परिवारलाई शुद्ध पिउने पानी खुवाउनले लक्ष्यको साथ जुडिबेला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निर्माण गरेको खानेपानी आयोजना विगत १० वर्षदेखि अलपत्र छ ।

खानेपानीको दीर्घकालीन समाधानको लागि वडास्तरबाट पनि काम भइरहेको चन्द्रपुर–२ का वडाध्यक्ष दुत्तबहादुर थिङले जानकारी दिनुभयो । वडाको जुडिबेला टोलमा ५१ घर, जोगी टोलमा ३५, नर्सरी टोलमा ७० र रैयाटोलमा ३१ घरका नागरिक खानेपानीबाट प्रभावित भएका छन् ।

ती टोलमा अक्फाम नेपालको आर्थिक सहयोगमा नौ वटा एक÷एक हजार लिटरको ड्रमसहित विभिन्न सामग्री किनेर नगरपालिकाले खानेपानी वितरण गर्दै आएको आरडिसी नेपालकी स्थलगत अधिकृत ज्योति फुँयालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जोगीटोलमा ४० वर्ष पुरानो धारा मर्मत गरेर पानी उपलब्ध गराइएको छ ।

जुडिबेला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष भोला थपलियाले पानी वितरणका लागि पाइपको व्यवस्था गर्न सके यो समस्या समाधान हुने बताउनुभयो । आयोजनाको पानी वितरणका लागि पाइप नभएकाले वितरण गर्न नसकेको भन्दै उहाँले करिब दुई हजार ५०० उपभोक्तामध्ये ९२ घरले आयोजनाको पानी खाइरहेका उहाँले जानकारी दिनुभयो ।

पाइपको लागि पटक–पटक सम्बन्धित निकायमा आग्रह गर्दासमेत सुनवाइ नभएपछि पानी वितरण गर्न नसकिएको अध्यक्ष थपलियाको भनाइ छ । उहाँका अनुसार आयोजनामा चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ ।

आयोजनाअन्तर्गत ‘डिपबोरिङ’ जडान, कार्यालय भवन निर्माण, विद्युतीकरण, पम्प हाउस निर्माण तथा करिब २७ किलोमिटर मुख्य लाइनको पाइप गाडिसकिएको अध्यक्ष थपलियाले जानकारी दिनुभयो । बजेट अभावका कारण मुख्य लाइनको पाइप खरिद गर्न नसक्दा काम ठप्प भएको उहाँले बताउनुभयो । यो आयोजना सम्पन्न गर्नका लागि अनुमानित रु दुई करोड बजेट आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो ।

आयोजना सञ्चालन हुनेवित्तिकै जुडिबेलामा खानेपानीको समस्या समाधान हुने स्थानीय राजन थापाले बताउनुभयो । आयोजनाको कामलाई शीघ्र सम्पन्न गरी पानीको सहज आपूर्ति मिलाउन उहाँले सरोकार भएका सबैलाई आग्रह गर्नुभयो । रासस