६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

धर्म र संस्कृतिसँग जोडिएका भक्तपुरको नौ हिटी

धर्म र संस्कृतिसँग जोडिएका भक्तपुरको नौ हिटी
अ+ अ-

भादगाउँ । भक्तपुर नगरपालिका–१ को दुगुरेको स्वकी अजिमा हिटीमा स्नान गरी नजिकको स्वकि (स्वाःस्वाः)अजिमालाई जल चढाइ पूजा चढाए दम रोग निको हुने धार्मिक विश्वास रहेको छ । अहिले पनि स्थानीयहरु स्वाःस्वाः आउँदा औषधिले काम नगरेपछि स्वकी अजिमा पूजा गर्ने परम्परा कायमै छ । तर स्वकी अजिमा हिटी पूरै झारपातले पुरिएको अवस्थामा छ ।

भक्तपुर नगरपालिका–१ कै वासिकचा हिटी धार्मिक रूपले पवित्र मानिन्छ । यो हिटीमा स्नान गरी जल ग्रहण गर्नाले टाउको दुखाइ रोग निवारण हुनुका साथै जिउ भारी भई थकान मुक्त हुने स्थानीय ८५ वर्षीय लतङ्काजी खत्रीले बताउनुभयो । उहाँ अहिले पनि टाउको दुःखेको बेलामा उक्त हिटीमा स्नान गरी गणेश, नारायण र महादेवलाई जल चढाइ दर्शन गर्ने गरेको बताउनुभयो । स्थानीय बस्ती विस्तारसँगै हिटीलाई व्यवस्थित अवस्थामा छ ।

भक्तपुर नगरपालिका–५ तुलाछेस्थित त्रिपुरा राजदरवारभित्र रहेको त्रिपुरासुन्दरी विद्या पीठको हिटी पनि धार्मिक तथा सांस्कृतिक रूपले अत्यन्त पवित्र मानिन्थ्यो । हिटीसँगै संरक्षणको पर्खाइमा रहेका महादेवलगायत विभिन्न देवीदेवताको मूर्ति रहेको छ । साथै, हिटी परिसर सूर्यविनायक गणेश मन्दिर र कर्माचार्यको आँगद्यो रहेको छ । गणेश र आँगद्योलाई स्नान गराउने यो हिटीको पानी जर्मन परियोजना लागू भएपछि मुहान सुकेर बन्द भएको स्थानीय बताउँछन् ।

त्यसैगरी त्रिपुरा राजदरबारभित्रै अर्को धार्मिक हिटी रहेको छ । तर यो हिटीलाई निजीकरण गरी हाल भुइसाहुको घरको भूइँतल्लामा राखिएको छ । हिटी परिसर पूरै रत्न भवनको नाममा व्यापारिक क्षेत्रमा परिणत भइसकेको छ भने हिटीमा आउने पानीको स्रोत बन्द छ ।

भक्तपुर नगरपालिका–५ सुकुलढोकाको बुलुबुलु हिटीलाई पनि सांस्कृतिक तथा धार्मिक रूपले अत्यन्त महत्वपूर्ण मानिन्छ । यो हिटीको पानी स्थानीय महादेव, नारायण देवलाई चढाउँछन् । नगरको मुख्य सडक छेउमा रहेको यो हिटीले बटुवाहरुले प्यास मेटाउने कार्य समेत गर्दै आइरहेको स्थानीय सत्य श्रेष्ठले बताउनुभयो । हिटी अहिले संरक्षणको पर्खाइमा छ ।
धार्मिक र सांस्कृतिक महत्वसँग जोडिएका भक्तपुरका नौ हिटीमध्ये भक्तपुर नगरपालिका–३ नासमना दबु हिटी अर्को पवित्र हिटीका रूपमा लिइन्छ । यो हिटीको पानीले स्थानीय अर्धनारेश्वर र उमामहेश्वरलाई स्नान गराउने परम्परा रहेको स्थानीय ७१ वर्षीया नाराकाजी सिल्पकारले बताउनुभयो । उहाँका अनुसार नजिकै मङ्गलकुण्ड रहे पनि यो हिटीकै पानीले स्नान गराउने परम्परा थियो । यो हिटीको परम्परागत मुहान बन्द भएपछि अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले वितरण गरेको पानी जडान गरी सञ्चालन गरिरहेको छ ।

सूर्यविनायक गणेश मन्दिर छेउको इनारे हिटी पनि नौ हिटीसँग जोडिएको हिटी हो । यो हिटीको पानीले सूर्यविनायक गणेश मन्दिरलगायत परिसरमा रहेका सबै देवीदेवतालाई स्नान गराइन्छ । दर्शन पूजनका लागि आएका भक्तजन इनारे हिटीमा हातखुट्टा धाएर चोखो गरी गणेशलाई सोही हिटीको जल चढाइ दर्शन गर्ने परम्परा अहिले पनि जीवितै छ ।

त्यसैगरी मन्दिर नजिकै तल ओरालोमा रहेको इनारे लुखाहिटी पनि सांस्कृतिक रूपले अत्यन्त पवित्र मान्निछ । यो हिटीको पानीले स्थानीय विभिन्न देवीदेवतालाई स्नान गराइन्छ । हाल यो हिटीमा वर्षाको समयमा पानी आउने अरु बेला सुख्खा छ । यो हिटीमा स्थानीयले प्रयोग गर्न मिल्ने गरी धारा जडान गरिएको छ ।

संस्कृतिसँग जोडिएका हिटीमध्ये अर्को महत्वपूर्ण हिटी हो भक्तपुर नगरपालिका–९ तचपालको भिसिंद्यो हिटी । नौ हिटीमध्ये सबैभन्दा बढी क्षेत्रफल ओगटेको यो हिटी परिसरमा बालबालिकामा रुन्चे लाग्दा मुख धुवाउने पवित्र कुण्ड, नारायण, धार्मिक समन्वय र सदभावको अनुपम उदाहरणस्वरूप शिवलिङ्ग र चैत्यलगायतका विभिन्न देवीदेवताका मूर्ति छन् । हिटीमा नियमित पानी आइरहेको छ । हिटीको पानीले नियमित भिसिंद्यो र गुरु दत्तात्रयलाई स्नान गराउने परम्परा छ । स्थानीय दैनिकी बिहान नृत्य स्नान गरी हिटीको पानी स्थानीय देवीदेवतालाई चढाउने गर्दछ ।

सूर्यविनायक गणेश मन्दिरको इनारे हिटीदेखि सुरु भई क्रमशः इनारे लुखा हिटी, स्वकी अजिमा हिटी, वासिकचा हिटी, नासमना हिटी, त्रिपुरासुन्दरी विद्यापीठ हिटी, भूइसाहुको घरको हिटी, बुलुबुलु हिटी र भिसिंद्यो हिटी गरी नौ हिटीमा स्नान गरी दर्शन पूजन गरी पूर्णता पाउने धार्मिक मान्यता छ ।

उल्लेखित भक्तपुरका हिटी धार्मिक, सांस्कृतिक एवम् विभिन्न रोग निदानसँग सम्बन्धित रहेको छ । भक्तपुरमा धार्मिक तथा सांस्कृतिक आस्था रहेका, इतिहास बोकेका, रोग निवारणका लागि बनाएका, शहरको शोभा, सुन्दरता बढाउन विभिन्न कालखण्डमा निर्मित लौकिक वास्तुकलाको अनुपम उदाहरणका रूपमा सुन्दर मनोमोहक हिटीहरु छन् । भक्तपुरका हिटीमा लिच्छवीकालदेखि मल्लकालसम्मका शैव शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्ति रहेका छन् ।

विशेषगरी गुन्हुपुन्हि अर्थात जनै पूर्णिमामा नौ हिटीमा स्नान गर्नाले पुण्य प्राप्तिका साथै विभिन्न रोगहरुको प्रकोपबाट जोगाउने धार्मिक विश्वास रहेको छ । यस दिन हिटी माथि अवस्थित उत्तरापन्थका देवीदेवताको दर्शन गर्नाले दिवङ्गत भएका परिवारका सदस्य सापारु ९गाईजात्रा०को दिन ईश्वरीय धाममा प्रवेश पाउने धार्मिक विश्वास रहेको संस्कृतिविद् बताउँछन् ।

नगरमा १७ पूर्वाभिमुख, २९ पश्चिमाभिमुख, दुई उत्तराभिमुख र २२ दक्षिणभिमुख हिटी छन् । तीमध्ये पूर्वाभिमुखका नौ हिटीलाई अत्यन्त धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिएको छ । नौ हिटी लिच्छवीकालीन समयमा बनाएको तलेजु तथा त्रिपुरासुन्दरी विद्यापीठको आगंद्योको मुख्य पूजारी सिद्धीवीर कर्माचार्यले बताउनुभयो ।

नेवार समुदायमा गुन्हुपुन्हीको दिन गुपुहिटी सिकवानेगु ९नौ वटा हिटी चिन्न जाने० परम्परा रहेका छ । यसैले भक्तपुरमा रहेको १७ मध्ये स्थानीय जनजीवनसँग जोडिएको पूर्वाभिमुख नौ हिटीमा तीर्थ स्नान गर्न जाने चलन छ ।

भक्तपुरका हिटीमध्ये धर्म संस्कृतिसँग जोडिएको नौ हिटीको विषेश महत्व रहेको पुरातत्वविद्, इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तम लोचन श्रेष्ठले बताउनुभयो । वास्तुतन्त्र विधि अनुरूप निर्माण गरिएका भक्तपुरको नौ हिटीलाई नवदुर्गा र नवग्रहको आशिर्वादका रूपमा लिन सकिने उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार नौ हिटीमा तीर्थस्नान गर्नाले सुख, शान्ति, समृद्धि प्राप्त गर्नुका साथै स्वस्थ हुने जनविश्वास रहेको छ ।
गुन्हुपुन्हीमा नौ जोर लुगा लगाएर, नौ थरिको गेडागुडीको क्वाँटी खाएर, पूर्वतिर फर्केको नौ वटा हिटीमा तीर्थ स्नान गर्न गयो भने सुख, शान्ति, समृद्धि भई मृत्युपश्चात् पितृ भएर बाँच्न पाइन्छ भन्ने धार्मिक मान्यता रहेको छ । तर आधुनिकतासँगै नौ हिटीमा स्नान गर्न जाने परम्परा लोप हुँदै गएको छ ।

भक्तपुर नगर स्थापना गर्ने लिच्छवी राजा आनन्ददेवले वास्तुमय बनाउने क्रममा विभिन्न हिटी निर्माण गरेको इतिहासमा उल्लेख छ । लिच्छवी राजा मानदेव प्रथमको नातिले हिटी बनाएको इतिहासमा उल्लेख छ । भक्तपुरमा लिच्छिवी र मल्लकालीन हिटी छन् । तीमध्ये मल्लकालीन ८० वटा र बाँकी लिच्छवीकालीन हिटी भएको इतिहासमा छ ।

भक्तपुरमा १०३ वटा हिटीमा अहिले करिब ७० वटा बाँकी छ । अधिकांश हिटी पुरिएको, घाँसेमैदानले छोपिएको देखिन्छ । कतिपय हिटीले भक्तपुर नगरपालिकाको सहयोग र स्थानीयको श्रमदानमा पुनर्जीवन पाएको छ । भक्तपुरको तलेजुभित्रको हिटी, तमारीको सुनधारा हिटीमा पानी आउन बन्द भएको छ । कतिपय हिटी वर्षामा पोखरीमा परिणत हुन्छ । इन्द्रायणी, महाकाली, पीठको हिटी, बजिगाँचा हिटीको निकास बन्द हुँदा वर्षैभरि पानीले भरिएको हुन्छ भने गोमारीको पञ्चतीर्थको हिटी, भिसिङ्द्यो हिटी वर्षामा पोखरी बन्छ । नौ हिटीमा तीनवटा हिटीमा मात्र पानी आउँछ । अरु सबै पुनःजीवनको पर्खाइमा बसेका छन् ।

हिटी चारपाटे लाम्चो अकारको हुन्छ । ठाउँअनुसार फरक देखिने हिटी हेर्दा अधिकांश मकर९गोही०को मुखबाट पानी बगिरहेको देखिन्छ । गोही गङ्गा महारानीको वाहन भएकाले धेरैजसो हिटीमा मकर राखिएको स्थानीय बताउँछन् ।

त्यसैगरी गोमुखी९गाई०, अजामुखी९बाख्राको मुखी०, ब्याघमुखी९बाघको मुख०, र गजामुखी९हातीको मुख० भएका हिटी पनि छन् । लिच्छवीकालीन हिटीको मुनी यक्ष हुन्छ भने मल्लकालीन हिटी मुनी शङ्ख बजाउँदै गरेको भगीरथ राखिएको हुन्छ । हिटी परिसरमा नारायण, महादेव, शैवलगायतका विभिन्न देवीदेवताको मूर्तिहरु राखिएको हुन्छ भने कुनै हिटी परिसरमा कुण्ड निर्माण गरिएको पाइन्छ ।

हिटीमा विभिन्न देवीदेवता राख्नु भनेको हिटीको पानीमा दैवी शक्तिका कारण रोगलाई निको पार्ने औषधियुक्त गुण हुने स्थानीय हीरालाल श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पूर्वमा फर्केका हिटीले विभिन्न रोगको निवारण गर्ने, पश्चिममा फर्केका हिटीले नगरबासीको हितको लागि, उत्तरमा फर्केको हिटीले महादेवलाई जल चढाएको र दक्षिणमा फर्केको हिटीले मृतकलाई तर्पण दिएको सङ्केत जनाउँछ ।

धार्मिक र सांस्कृतिक आस्थासँगै नगरको शोभा बढाउन र दैनिक जीवनमा पानीको आवश्यकता पूर्ति गर्न निर्माण गरिएका वास्तुकलामा अनुपम नमूनायुक्त हिटी संरक्षणको अभावले कुरूप बन्नुका साथै लोप हुने अवस्थामा पुगेका छन् । कतिपय लोप भइसकेका छन् । यस्ता सम्पदाको संरक्षण गरी वैकल्पिक स्रोतको परिचालन गरी निरन्तर पानी आउन बनाउन सके यसले नगरको सौन्दर्यकरणसमेतमा टेवा पुग्ने देखिन्छ । रासस